• १२ वैशाख २०८१, बुधबार

खोलामा पसेको बस्ती–५

खोला पुर्न मतको राजनीति

blog

कपनस्थित यज्ञमती खोलामा आएको बाढी र खोला पुर्न कल्भर्ट निर्माणका लागि बिछ्याइएको फलामे रड ।

काठमाडौँ, साउन १९ गते । ‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अभियानमा होमिनुभयो। उहाँसँगै बूढानीलकण्ठ–१० का वडाध्यक्षका उम्मेदवार नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई पनि बाढीबाट आजित कपनवासीलाई लोभ्याउने ‘राम्रो’ योजना यही बन्यो। 

नगरप्रमुखमा खरेललाई कपनबाट पहिलो मत खस्यो अनि १० र १२ मा पनि भट्टराईद्वय वडाध्यक्षमा विजयी हुनुभयो। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यज्ञमती र चखुँचाखोलाको बाढीकै विषयले उहाँहरू पुनः वडाध्यक्षमा दोहोरिनुभयो। कपनकै आकाशेधाराका स्थायी बासिन्दा एवं एमाले नेता मिठाराम अधिकारी नगरप्रमुख निर्वाचित हुनुभयो। 

तर चखुँचाखोला र यज्ञमतीको संरक्षण गरी पानीको स्रोत जोगाउने दीर्घकालीन लक्ष्यविहीन नगरप्रमुख र वडाध्यक्षद्वय कल्भर्ट निर्माण ‘छिटो–छिटो सक्ने’ तनावमा हुनुहुन्छ। नगरप्रमुख अधिकारीले भन्नुभयो, “तत्कालीन नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार हुँदा नेता डा. राजन भट्टराईसहित हाम्रो पहलमा यज्ञमती र चखुँचाखोलाको खहरे नियन्त्रणका लागि बजेट ल्याएका हौँ।”

खोला पुर्न कल्भर्टको योजना

काठमाडौँ महानगरपालिका–६ र बूढानीलकण्ठ–१०, ११ र १२ लाई सिञ्चित गर्ने यज्ञमती र चखुँचाखोलामा पक्की बक्स कल्भर्ट निर्माणको योजना ‘जस लिने’ होडकै रूपमा बनेको नेताहरूको स्वीकारोक्ति छ। एमाले नेता डा. भट्टराईले २०७१/७२ मै संविधान सभा सदस्य भएका बेला आफूले पक्की नाला निर्माणको पहल थालेको बताउनुभयो। त्यसपछि एमाले अध्यक्ष ओली नेतृत्वमा गठबन्धन सरकार बनेपछि तत्कालीन अर्थसचिव लोकदर्शन रेग्मी, सडक विभागका तत्कालीन महानिर्देशकसहितको टोलीलाई भ्रमण गराएर अध्ययन गरेको उहाँले बताउनुभयो। भट्टराईले भन्नुभयो, “त्यति बेला बाढी र ढल नियन्त्रण गर्न ह्युमपाइप लगाइयो तर बाढी झन् बढ्यो। अनि कल्भर्ट निर्माणको योजना ल्याइएको हो।” कल्भर्ट निर्माणका लागि ठेक्का दिने काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले आफू आउनुअघि नै खोलामा कल्भर्ट निर्माणका लागि मन्त्रालयको समन्वयमा योजना बनेर आएको बताउनुभयो। उहाँले सबै कुरा राजनीतिक तहमा मिलेको र आफूहरूले ठेक्का लगाउने काम मात्रै गरेको जानकारी दिनुभयो।

कल्भर्ट : अदूरदर्शी योजना

पूर्वजलस्रोतमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीले ‘जस लिने होड’मा खोला पुर्न थालिएको  बताउनुभयो। उहाँले दीर्घकालीन योजना निर्माण नगरे केही वर्षभित्रै कपन र सरस्वतीनगर क्षेत्रमा बर्खायाममा बाढी र हिउँदमा पानीको हाहाकार मच्चिने बताउनुभयो। उहाँले भन्नुभयो, “खोला पुर्ने योजना चुनावी खपतकै लागि हो, कथित विकासको जस लिन मात्रै हो।”

डा. भट्टराई, नगरप्रमुख अधिकारी र बूढानीलकण्ठ–१० का वडाध्यक्ष भट्टराईले यज्ञमती र चखुँचाखोलामा निर्माण गरिएको कल्भर्ट दीर्घकालका लागि नभएको बताउनुभयो तर उहाँहरूले खोलालाई साबिककै अवस्थामा फर्काउन अप्ठ्यारो पर्ने जिकिर पनि गर्नुभयो।

खोलालाई जस्ताको तस्तै बग्न दिने अवस्था नरहेको जिकिर डा. भट्टराईले गर्नुभयो। घर अनुमति दिएर बनाएको तर कतिपय अनुमति नलिई खोला मिचेर बनाइएको उहाँले बताउनुभयो। खोला कायम गर्ने भए बस्तीलाई पुनव्र्यवस्थित गर्ने योजनासाथ जानुपर्ने उहाँको मत छ। उहाँले बस्ती उठाउन सक्ने योजना सरकारले ल्याए त्यसमा आफूहरू तयार रहेको बताउनुभयो। 

उहाँले काठमाडौँको जग्गा व्यवस्थापनमा कमजोरी भएको बताउँदै सार्वजनिक जग्गा मिच्ने, खोला मिच्ने काम भएको भनाइ राख्नुभयो। उहाँले भन्नुभयो, “२०५९ देखि स्थानीय तह भएनन्, मनपरीतन्त्र हावी भयो, कर्मचारीको भरमा हामीले छोडिदियौँ, अनुगमन भएन, त्यसकारण जग्गा प्लटिङ गर्नेले मनपरी ढङ्गले जग्गा बिक्री गरेर बिगारे, त्यसभित्र कपन पनि परेको होला।”

नगरप्रमुख अधिकारीले अबको चार–पाँच वर्षमा कपन क्षेत्रमा भूमिगत पानी सकिने बताउँदै यसका लागि उत्तम विकल्प कल्भर्ट नभएको प्रस्ट पार्नुभयो। उहाँले अहिलेका लागि भूमिगत पानी सञ्चित गर्न नगरले योजना बनाएको बताउनुभयो। वडाध्यक्ष भट्टराईले कल्भर्टले पानीको समस्या विकराल हुने बताउँदै योजना निर्माण गरेर खोलालाई खोलाकै रूपमा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभयो।