• ७ वैशाख २०८१, शुक्रबार

बाँदर आतङ्कले गाउँबासी विस्थापित

blog

दशरथचन्द नगरपाकिला–८, धौल्यालीमा बाँदरले खाएको मकै देखाउँदै किसान । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, साउन १८ गते । बाँदर आतङ्कले दशरथ चन्द नगरपालिका –८, धौल्याली गाउँका ८० परिवार घरमा ताल्चा लगाएर गाउँबाटै विस्तापित भएका छन् । गाउँका अधिकांश मानिस घर छाडेर हिँडेपछि धौल्याली गाउँमा रहेको कैलापाल आधारभूत विद्यालयको कक्षा ४ मा एक जना मात्रै विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ मा पनि एक जना मात्रै विद्यार्थी रहेको शिक्षक लक्ष्मणसिंह थापाले बताउनुभयो । 

प्रारम्भीक बालविकास केन्द्रदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १८ जना मात्रै विद्यार्थी रहेको थापाले बताउनुभयो । विद्यालयको अभिलेखमा १८ जना विद्यार्थी भर्ना भएको देखिए पनि तीमध्ये अधिकांश अभिभावकले  बाँदरका कारण गाउँ छाडेर हिँडेपछि मङ्गलबार विद्यालयमा तीन जना मात्रै विद्यार्थीले अध्ययन गरे ।   

बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका –५, ६, ८ र १० नम्बर वडाका पाँच गाउँका करिब चार सयभन्दा बढी परिवार बसाईँसराई  गरेर गाउँ छाडेर हिँडेको स्थानीय हिक्मत चन्दले बताउनुभयो ।  


एक जना मात्र विद्यार्थीलाई कक्षा कोठामा पठनपाठन गराउनुहुँदै शिक्षिका

बस्ती रित्तिदै गएपछि दशरथ चन्द नगरपालिका –१० को रणशैनी आधारभूत विद्यालय रातामाटा,  शान्ति आधारभूत विद्यालय तिरखडेनी र ज्ञानेश्वर आधारभूत विद्यालय भटाला र वडा ६ को जगन्नाथ आधारभूत विद्यालय नकतडी विद्यालय बन्द भएका छन् । 

बाँदरले गाउँमा लगाएको  खेतीपाती सखाप पार्न थालेपछि स्थानीयहरु तराईतिर झरेको र गरिब बिपन्न परिवारलाई हातमुख जोर्न धौधौ परेको दशरथचन्द नगरपालिका –८, धौल्याली गाउँकी पुष्पा बोहराले बताउनुभयो । बाँदरले खेतीपाति र फलफूल सबै सखाप पार्न थालेपछि दिनभर हातमा गुलेली लिएर आँगनमा पहरा दिनुपरेको हिरा बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाँदरले साह्रै रुवाएको छ । धपाउन गए झम्टिन आउँछन् । आज मात्रै एक डोको मकै खाईदियो । अहिले मकैको सिजन छ । बारीमा फलफूल पनि छन् । हिउँद लागेपछि त घरभित्र पकाएको खाने कुरा पनि खोसेर लैजान्छन् ।” बाँदरको आतंकले धेरैले गाउँ छाडेको उहाँले बताउनुभयो । 

बन्ध्याकरण गर्न माग   

बाँदर पीडित किसानले बाँदरको बन्ध्याकरणको माग राखेका छन् । त्यसका लागि स्पष्ट कानुन नभएको डिभिजन वन कार्यालय बैतडीका प्रमखु भीमप्रसाद कँडेलले बताउनुभयो । डिभिजन वन प्रमुख कँडेलले भन्नुभयो, “केही महिनाअघि किसान आन्दोलन गर्दै बाँदरको बन्ध्याकरणको माग गरेका थिए । कानुनले त्यसो गर्न दिँदैन । मार्न त झन पाइँदैन ।”

वन प्रमखु कँडेलका अनुसार बैतडीमा पछिल्लो समय स्थानीय तहको सरकारले पर्यावरणीय अध्ययन नगरि वन्यजन्तुको बासस्थान खलबल्याउने गरी डोजर लगाएर सडक खन्दा समस्या सिर्जना भएको छ ।  

“स्थानीय सरकारले जथाभावी सडक निर्माण गर्दा बँदेल, बाँदर, दुम्सीलगायतका जनावरको वासस्थान खण्डिकरण भएको छ” डिभिजन प्रमुख कँडेलले भन्नुभयो, “जनावरको आहारविहार गर्ने, पानी खाने ठाउँ, बच्चा जन्माउने र हुर्काउने स्थान खलिबलिएका कारण बैतडीमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको हो ।”