भवानीदत्त भट्ट
कञ्चनपुर, कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालय अगाडि टहरा बनाएर बसेका आरक्षपीडित परिवार डिभिजन वन कार्यालय सरेका छन् । २४ वर्ष पहिले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित हुनुभएका आरक्षपीडितहरु पुनर्स्थापनाको मागसहित अहिले कञ्चनपुरस्थित सदरमुकाममा भौँतारिरहेका हुन् । आइतबार महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका आरक्षपीडितहरु पुनर्स्थापनाको मागसहित बुधबारदेखि भने डिभिजन वन कार्यालय अगाडि सरेका छन् ।  
जडिबुडी उद्यान केन्द्रको खाली जमिन रहेको झाँडी झाडी फडानी गरेर अस्थायी टहरा बनाउन झाडी काट्नमा व्यस्त रहेका उनीहरूले सर्प बिच्छीको त्रासमै बस्नु परेको दुखेसो पोखेका छन् । झाडी सफाइका क्रममा पाँच वटा सर्प देखिएको आरक्षपीडित नरुवा लुहारले बताउनुभयो । सर्प, बिच्छीको त्रासमा पुनर्स्थापनाको मागसहित यहाँ बस्नु परेको उहाँले बताउनुभयो । उमेरले ६५ वर्ष पुग्नुभएका नरुवा लुहारले आफ्नो तीन पुस्ता अहिले भारतमा मजदुरी गरेर गुजारा गरिरहेको दुखेसो पोख्नुभयो ।
आरक्षपीडितको पीडा बुझेर सरकारले सिघ्र पुनर्स्थापना गर्नुपर्ने उहाँले माग गर्नुभयो । यही झुपडीमा आफूहरू मरेर गए पनि छोरा नातिहरूले न्याय पाउनुपर्ने उहाँको माग छ ।
६३ वर्षीय आरक्षपीडित सिद्दनाथ योगी पनि बुधबार सुत्नका लागी भुईँमा पाल बिछ्याइरहनुभएको थियो । प्रशासनले हालसम्म ७–८ स्थानबाट धपाएपछि अहिले यहाँ पुगेको बताउनुहुँदै उहाँले यहीबाट अन्तिम लडाइ लड्ने बताउनुभयो । मलिन अनुहार लगाउँदै उहाँले भन्नुभयो, “के मरिन्छ, के तरिन्छ ।” खान बस्नको कुनै ठेगान नहुँदा रातभर मच्छरले टोकेर अन्धकारमा बसेर अन्तिम लडाइ लडिरहेको बताउनुहुँदै उहाँले राज्यले पुनर्स्थापना गरिदिए तरिने नत्र यही मरिने बताउनुभयो ।
दुई छोरा र एक छोरीका आमा शान्ति नाथले पनि अभिभावक ठानिएको सरकारले नै ठग्दा बिचल्लीमा परेको दुखेसो पोख्नुभयो । आठ वर्षको सानै उमेर छोरा मजदुरीका लागि भारत गएको दुखेसो पोख्नुहुँदै उहाँले अहिले छोरा २८ वर्ष पुगिसक्दा समेत न त रोजगारी न त वासस्थान नै मिलेको दुखेसो पोख्नुभयो ।
छोराले भारतमा जुठा भाडा माझेर आफूलाई यहाँ खाद्यान्नका लागि खर्च पठाइरहेको आरक्षपीडित पार्वती नाथले बताउनुभयो । राज्यले आफूहरूको पीडा बुझेर न्याय दिलाउनुपर्ने उहाँले माग गर्नुभयो । रातिको समयमा लामखुट्टेले टोकेर सुत्न नसकिएको गुनासो उनीहरूको छ । अहिले झोलामा खाद्यान्न बोकेर टहरामा खाना बनाउँदै आएको उनिहरु बताउँछन् ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले प्रशासन अगाडि बस्दा रातिको समयमा समस्या हुने देखिएपछि डिभिजन वनको अगाडी जडिबुडी उद्यान केन्द्रको जमिन कब्जा गरेर बस्न थालेको बताउनुभएको छ । सरकारले आफूहरूका माग पूरा नगरुन्जेल दुई सयभन्दा बढि आरक्षपीडिहरु अब यही बस्ने उहाँले बताउनुभयो ।
आरक्षपीडितहरुले सरकारलाई दबाब स्वरूप महेन्द्रनगरमा पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन सुरु गरिएको बताएका छन् । उनीहरूले दैनिक बिहान बजार परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालय अगगाडि एक घण्टा धर्ना समेत दिँदै आएका छन् ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                