• १४ कात्तिक २०८२, शुक्रबार

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

blog

नेपालगञ्ज, कात्तिक १४ गते । दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको छ । नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले उदघाटन गर्नुभयो । 

सो अवसरमा उहाँले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पौडी खेलका लागि खर्च भएको रकमको २५ प्रतिशत प्रदेश सरकारले बेहोर्ने छ ।” उदघाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पौडी खेलका गतिविधिलाई बढाएर रङ्गशालामा भएको पौडी पोखरीको सदुपयोग गर्न सुझाव दिनुभयो । 

एदघाटन खेलमा ५० मिटर अन्डर आठ ब्याक स्टोक इमेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजवीन जिरेल प्रथम, आदर्श माध्यमिक विद्यालय नेपालगञ्जका युभान श्रेष्ठ दोेस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो हुनु भएको छ । त्यसै गरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल प्रथम, शिखा एकेडेमी कोहलपुर बाँकेका दिप्सन पुन मगर दोस्रो र आदर्श मावि नेपालगञ्जका युभान श्रेष्ठ तेस्रो हुनुभएको छ । 

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर आठ गल्समा सगरमाथा क्लबका छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमी कोहलपुरकी श्रीजा रेग्मी तेस्रोे स्थान हासिल गर्नुभएको छ । २५ मिटर ब्याकस्ट्रोक अण्डर आठ गल्समा सगरमाथा क्लबकी छियाना महर्जन प्रथम, आदर्श माविकी समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो हुनुभयो । 

प्रतियोगिताका विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा देशभरिका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहका १५० भन्दाबढी खेलाडीको सहभागिता रहेको छ । अन्डर आठ उमेर समूहका खेलाडीले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्डर १० उमेर समूहका खेलाडीले अन्य खेलाडीले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । 

त्यसै गरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दूरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । खुला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न इभेन्टमा खेलाडीबिच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्टमा हुने छन् । यसअघि नेपालगञ्ज स्वीमिङ क्लबले दुई दिने स्वीमिङ प्रशिक्षक प्रशिक्षण तालिम गरेको थियो । यो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ । रासस