• ७ जेठ २०८१, सोमबार

गुणस्तरीय शिक्षा ग्यालेक्सी स्कुलमा

blog

ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलको स्थापना २०४२/४३ सालमा भएको हो। स्कुलको लक्ष्य र उद्देश्य भनेकै विद्यार्थीको उज्ज्वल भविष्य निर्माण हो। यसै लक्ष्यलाई पूर्ति गर्न स्कुल निरन्तर विद्यार्थीको भविष्यप्रति मात्र केन्द्रित रहँदै आएको छ। विगतमा एसएलसी परीक्षामा सर्वाेत्कृष्ट स्थानमा थुप्रै विद्यार्थीले सफलता प्राप्त गर्न सफल ग्यालेक्सी स्कुलबाट विद्यालय तह पूरा गरेका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च सफलता हासिल गर्न सकेका छन्। विद्यार्थीलाई औपचारिक शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ज्ञान र सहभागी गराइँदै आएको छ।

स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा ग्यालेक्सी पब्लिक स्कुलबाट उत्पादित जनशक्तिले देखाएको हलचल र प्राप्त गरेको ख्यातिको सर्वत्र उच्च मूल्याङ्कन गरिएको छ। दुई दुई पटकसम्म राष्ट्रिय ध्वजासहितको सिल्ड तथा एकपटक क्षेत्रीय स्तरको सिल्ड हासिल गरेको यस स्कुलले विदेशबाट ओइरिएको विकृतिलई निष्क्रिय बनाई स्वदेशी संस्कृतिको विकास तथा विस्तारका निमित्त दिएको योगदान अर्काे उदाहरणीय पक्ष हो। ग्यालेक्सीबाट उत्पादित जनशक्तिले पश्चिमको कल्पनातीत भौतिक विकास र पूर्वको आध्यात्मिक नैतिकता, अनुशासन तथा आचरणलाई सन्तुलित रूपमा लिएर हिँडेकैले प्रसिद्धिको शिखर चढेको हो भन्न सजिलै सकिन्छ।

यस स्कुलमा १८३ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। प्रशासनिक कर्मचारी १२३ जना कार्यरत छन्। करिब तीन हजार विद्यार्थीले गुणस्तरीय शिक्षा लिइरहेको स्कुलमा औपचारिक शिक्षाका साथै खेलकुद, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजसेवा, योग, ध्यान आदिमा विद्यार्थीलाई अगाडि बढ्न प्रेरणा दिने प्रशंसनीय कार्य गर्दै आएको छ।