• २२ वैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेश गौरव आयोजना अलपत्र

blog

लुम्बिनी, साउन १७ गते । लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।

दुई वर्षमा सक्ने गरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ ।

चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा, चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गर्नुभएको भएपनि अहिले सो सडक अलपत्र बनेको छ ।

तिनाउ गाउँपालिका–५, ज्यामिरेका स्थानीय राजकुमारी विकले काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको बताउनुभयो ।

वर्षेनी ढुङ्गगासहितको पहिरोले जनधनको क्षति व्योहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुनेभन्दा खुशी लागेको भए पनि पाँच वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दुःख लागेको उहाँको भनाइ छ ।

उहाँले सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको बताउनुभयो ।

अर्का स्थानीय गोविन्द विकले बाटो बनाउन थालेको पाँच वर्ष पूरा भए पनि काम नसकिएको बताउनुभयो । विभिन्न खोलाहरुमा मोटरेबल पुल बनिसकेको र पहाडको ठाउँ भएकोले माटो बगिरहेको छ ।

त्यस्तै, अर्का स्थानीय बाटोको सुधार भइरहे पनि लामो समयसम्म निर्माण पूरा नहुँदा स्थानीयले दुःख पाएको बताउनुभयो ।

काममा सुधार देखिएपनि कहिलेसम्म निर्माण पूरा हुन्छ भन्ने कुराको स्पष्टता नरहेको उहाँले उल्लेख गर्नुभयो ।सडक खनेका कारण पहिरो जाने र जमिन भासिने गरेको उहाँको भनाइ छ ।

सडक पूर्वाधार कार्यलय पाल्पाकाअनुसार सडक निर्माणको क्रममा कमजोर भूभागको आँकलन नगरिदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले चुरे क्षेत्र भएका कारण पहिरोको समस्या बढ्दै गइरहेकोले काम समयमै सकिन समस्या भएको बताउनुभयो । सडक निर्माणमा पहिरो बाधक भएकोले पहिरोको समाधान अहिलेसम्म नपाइएको उहाँको भनाइ छ ।

भुगोलको विषयमा सम्भाव्यता अध्यनबिना चुरे पहाडमा निर्माण थालिनु, मेसिनको प्रयोग हुनु, जस्ता कारणले सरकारको लगानीले सार्थकता पाउनसक्ने अवस्था कम रहेको स्थानीयहरुको गुनासो छ ।

चुरे आफैँमा कमजोर पहाड भएकोले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वन जङ्गल मात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ । यस खण्डको झण्डै दश किलोमिटर कमजोर भूभागका कारण पहिरोको उच्च जोखिम छ ।

जोखिमयुक्त सडकको वैकल्पिक सडक भनिएपनी पर्याप्त अध्ययन बिना नै सडक निर्माण थालिँदा अहिलेको अवस्था सिर्जन भएको स्थानीयहरु बताउँछन् ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्याक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड बढी रकम खर्चिएको छ ।

वि.सं.२०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै, पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म विनियोजन गरेको थियो । जिल्ला समन्वय समिति पाल्पाले ट्याक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा यो सडकका लागि पुनः सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।