• १३ वैशाख २०८१, बिहिबार

खुसियाली मनाउन नमिल्ने ठेचो जात्रा

blog

ललितपुर, साउन १७ गते । गोदावरी नगरपालिका–१२, ठेचोमा नवदुर्गा भवानी देवीको मन्दिरको ढोकामा ताल्चा मारेसँगै बाह्रवर्षे जात्रा मनाइरहेका छन्। 

घण्टाकर्ण (गथामुगः चह्रे)को राति देवी मन्दिरको ढोकामा ताल्चा लगाएलगत्तै मेला तथा जात्रा सुरु भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो। उहाँले जात्रा चैतमा समाप्त हुने जानकारी दिँदै बन्द मन्दिरको ढोका अगाडि पूजा गरी जात्रा मनाउने परम्परा छ, भन्नुभयो।

मालीका अनुसार जात्रामा परम्परागत रूपमा चल्दै आएको तान्त्रिक विधिअनुरूप पूजा हुन्छ। उहाँले थप्नुभयो, “हामीले मन्दिर अगाडि छाप्रो बनाउन सुरु गरिसकेका छौँ।” त्यसमा देवीलाई गुप्तवास राख्छौँ। एक महिनापछि गुप्तवासबाट निकालेर पञ्चदानका दिनमा खुला गरिनेछ। 

दुर्गा भवानी ताल्चाभित्र गुप्तवास बस्ने भएकाले ठेचोवासीले पनि खुसियाली मनाउन हुँदैन भन्ने मान्यता छ। यसैगरी यो अवधिमा ठेचोवासी राति भएपछि घर बाहिरसमेत हिँड्नु हुँदैन। 

माली भन्नुहुन्छ, “भवानीको जात्रा सुरु भएसँगै सो क्षेत्रमा बाजा, घण्टी र सिट्ठी आदि बजाउन नहुने नियम छ। मन्दिरको ढोकामा ताल्चा मार्नुअघि ठेचोवासीले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियम पालना गर्नुपर्ने सूचित गर्दछ। घण्टाकर्ण चतुर्दशीदेखि धुस्ख नाच पूरा नभएसम्म गुठीका बाजाबाहेक अन्य बाजासमेत बजाउन पाइँदैन। जात्रा समापनपछि भने सबै बाजा बजाउन पाइन्छ।

जात्रा अवधिभर २८ वटा पूजा हुनेछ भने ६० वटा त बलि चढाइन्छ। सुनाकोठी र ठेचोवासीका लागि जात्राको अवसरमा भोज खुवाइन्छ। जात्रा अवधिभर ठेचोमा खुट्टा झुन्ड्याएर बस्न नहुने, पटक पटक भोजभतेर, विवाह व्रतबन्ध गर्न नहुने, अन्य ठाउँबाट आएका पाहुनालाई बास दिन नपाउने नियम बनाइएको छ।

सो जात्रामा नवदुर्गा नाचसमेत मञ्चन गरिन्छ। यो जात्रा लिच्छविले पाटनमा किराँत वंशलाई पराजित गरेको इतिहाससँग पनि जोडिएको छ।