• ४ साउन २०८१, शुक्रबार

कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न निर्देशन

blog

काठमाडौँ, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयको साखलाई थप उच्च बनाउन तथा कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न मातहत निकायका प्रमुख र कर्मचारीलाई निर्देशन दिनुभएको छ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार बसेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो। उहाँले खर्चमा मितव्ययिता अपनाउन र पुँजीगत खर्च बढाउनसमेत निर्देशन दिनुभयो।

उहाँले मन्त्रालयले तय गरेका सबै योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन देखिएका समस्याको नीतिगत रूपमै समाधान गर्नुपर्ने बताउँदै आयोजनालाई सम्पन्न गर्न राजनीतिक नेतृत्वबाट चाहिने सहयोग गर्न आफू तयार रहेको बताउनुभयो।

मन्त्रालयले गत आर्थिक वर्ष २०७८/७९ मा १४२ वटा महत्त्वपूर्ण कार्ययोजना तय गरेकोमा ६७ वटाको कार्य सम्पन्न भइसकेको छ भने ४३ वटाको काम सुरु भए पनि अहिलेसम्म सम्पन्न हुन सकेका छैनन्। त्यसैगरी ३२ वटाको काम अहिलेसम्म सुरु हुन नसकेको जानकारी सो अवसरमा दिइयो।

गोरखापत्र संस्थान र हुलाक सेवा विभागले अहिले गरिरहेका कामको प्रशंसा गर्दै उहाँले गोरखापत्र संस्थानको भवन बनाउनुपर्ने र त्यसका लागि बजेट तर्जुमा गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो। 

मन्त्रालयले अहिले दीर्घकालीन रूपमा सकारात्मक असर पार्ने योजना बनाइरहेको र ती योजनाको कार्यान्वयनपछि मन्त्रालयको साखमा वृद्धि हुने विश्वास आफूले लिएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंह प्रधानले मन्त्रालयको विकास प्रयासमा राष्ट्रिय योजना आयोगले सहजीकरण गरिरहेको बताउनुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सेवाग्राहीले अनुभूत गर्ने गरी भौतिक प्रगतितर्फ सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउँदै भौतिक प्रगति वित्तीय प्रगतिबीच तालमेल र समन्वय हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो। 

उहाँले भन्नुभयो, ‘‘भौतिक प्रगति राम्रो भए पनि सेवाग्राहीले त्यसको व्यवहारगत रूपमा महसुस गर्न सके कि सकेनन्, त्यो नै महत्त्वपूर्ण कुरा हो।’’ गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गत आर्थिक वर्षमा सबभन्दा ठूलो ‘ब्रेक थ्रु’ को रूपमा विगत दस महिनादेखि अलपत्र रहेको कोहलपुरबाट प्रकाशन सुरु गरी थप ३० वटा जिल्लामा गोरखापत्रको पहुँचलाई सहज बनाइएको बताउनुभयो।

उहाँले गोरखापत्र दैनिक र द राइजिङ नेपालका समाचार सामग्रीको विषयवस्तु चयन, प्रस्तुति र डिजाइनमा गरिएको परिवर्तनबारे चर्चा गर्नुभएको थियो। उहाँले विषयवस्तुको गुणस्तरमा  परिवर्तन भएपछि पाठकबाट राम्रो ‘फिडब्याक’ पाइरहेको बताउनुभयो। उहाँले गोरखापत्र संस्थानको भवन पुनर्निर्माणका लागि विगत दस महिनादेखि एक सूत्रीय मागको रूपमा उठाउँदै आएको बताउँदै सम्भव भए चालू आर्थिक वर्षमा नै शिलान्यासको व्यवस्था मिलाउन आग्रह गर्नुुभयो । अहिले पनि दुई सयभन्दा बढी कर्मचारी भूकम्पबाट क्षतिग्रस्त भवनमा काम गर्न बाध्य रहेकाले सो कुरालाई प्राथमिकतामा राखिदिन अध्यक्ष सुवेदीले मन्त्रालयसँग अनुरोध गर्नुभयो। 

उहाँले गोरखापत्रको भाषामा एक रूपता ल्याउने प्रयासस्वरूप शैली पुस्तिका निर्माणका लागि समिति बनाएर काम भइरहेको जानकारी दिनुभयो। त्यसैगरी गोरखापत्र दैनिक र दी राइजिङ नेपालमा ब्युरो नै बनाएर खोजमूलक समाचार प्रकाशन गर्ने कार्य सुरु गरिएको, राष्ट्रिय अभिलेखालयसँग सम्झौता गरेर डिजिटाइजेसनको काम अगाडि बढाइसकिएको, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँग सम्झौता गरेर गोरखापत्र पुस्तकालयको स्तरोन्नतिको काम सम्पन्न गरिएको जानकारी दिनुभयो।

सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र उपसचिव रेखा पाण्डेले बैठकमा मन्त्रालयअन्तर्गतका निकायको सङ्क्षिप्त कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो।