लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ ४ गते । ‘पैदलमैत्री र साइकलमैत्री पूर्वाधार विकासलाई प्राथमिकता दिऔं, सडक सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा सबै जुटेर लागौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा ८ औं संयुक्त राष्ट्रसङ्घीय विश्व सडक सुरक्षा सप्ताह सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय ८ औं सडक सुरक्षा सप्ताह (१२–१८ मे २०२५) को अवसरमा आइतबार बागमती सेवा समाज नेपालको अगुवाइमा पैदलयात्री र साइकल यात्रीको सुरक्षालाई प्राथमिकता दिँदै उक्त कार्यक्रमको मनाइएको हो । कार्यक्रममा विश्वकर्मा चाेकदेखि जनक चाेकसम्म सडक सुरक्षा सम्बन्धी नारासहित पैदल यात्रा सञ्चालन गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सडक सुरक्षासम्बन्धी जनचेतना र्याली, पोस्टर प्रदर्शनी, विद्यालयका बालबालिकाद्वारा ट्राफिक नियमसम्बन्धी सूचना प्रवाह र ट्राफिक प्रहरीबाट सुरक्षित सम्बन्धी जानकारीसहितको कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती सेवा समाज नेपालका प्रतिनिधि शशी बर्माले भन्नुभयो, “सडक सुरक्षित हुनु केवल चालकको नभई सबैको हक र आवश्यकता हो । बालबालिका, वृद्धवृद्धा, पैदलयात्री र साइकल यात्रीहरूको सुरक्षाका लागि साझा प्रयास अपरिहार्य छ ।”
यस्तै कार्यक्रमका वक्ताहरूले विशेष गरी पैदल यात्री, साइकल यात्री, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षाका लागि सुरक्षित क्रसिङ, साइकल लेन, ट्राफिक साइनेज र शिक्षा आवश्यक रहेकोमा जोड दिएका थिए भने सडक सुरक्षालाई मानव अधिकार, जीवनको रक्षा र दिगो विकाससँग जोडेर हेर्नुपर्ने सन्देश विशेष जोड दिइएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका, नेपाल ट्राफिक प्रहरी, जनकपुर पब्लिक स्कुल, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सम्पन्न उक्त अभियानले सडक सुरक्षासम्बन्धी चेतनाको स्तर उकास्न महत्त्वपूर्ण योगदान दिएको सहभागीहरूको धारणा रहेको छ ।
यस्तै, संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा दुई-दुई वर्षमा एक पटक मनाइने यो सप्ताह विश्वभर सडक दुर्घटनामा कमी ल्याउन र सडक सुरक्षामाथि जनसहभागिता बढाउन मनाइन्छ । यस वर्ष जीवनका लागि सडकहरू ः पैदल र साइकल यात्रा सुरक्षित बनाउने’ भन्ने नारासहित पैदलयात्री र साइकल यात्रीलाई केन्द्रमा राखेर सप्ताह मनाइएको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सडक दुर्घटनाबाट विश्वभर वार्षिक झण्डै १.३ मिलियन व्यक्तिको मृत्यु हुन्छ । नेपालमा मात्र बर्सेनि२,५०० भन्दा बढीको ज्यान सडक दुर्घटनाबाट जाने गरेको छ । मधेश प्रदेश सवारी चाप, ट्राफिक अनुशासनको कमजोरी र कमजोर पूर्वाधारका कारण बढी जोखिममा रहेको मानिन्छ ।