• ४ जेठ २०८२, आइतबार

तातोपानीबाट अवैध सामानको ओसारपसार

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ४ गते  । नेपाल–चीनबिचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाका तस्कर र तस्करीका कारणले बदनामपूर्ण रूपमा चर्चा हुने गरेको छ । कहिले रक्तचन्दन तस्करी, कहिले सुन तस्करी त कहिले जडीबुटी र गैँडाको खाग तस्करी हुने गरेको घटनाले बढी चर्चा पाउन थालेको छ । 

गैरकानुनी सामानको ओसारपसार तथा तस्करीले बदनाम हुँदै आएको तातोपानी नाका पछिल्लो समय भेप (विद्युतीय चुरोट) को तस्करी हुने नाका भनेर बदनाम भइरहेको छ ।

२०८१ वैशाखमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रका आधारमा जाँचपास बन्द गरिएको विद्युतीय चुरोट (भेप) को तातोपानी नाकाबाट खुलमखुला तस्करी हुन थालेको छ । नाका आबद्ध ट्रान्सपोर्ट कम्पनी र व्यापारी भेप तस्करीमा संलग्न रहेको प्रहरीको भनाइ छ । 

गत चैतको अन्तिममा तातोपानी भन्सार कार्यालयको निगरानीमा रहेको ९९० थान अवैध भेपमध्ये ३६ कार्टुन भेप चोरी भयो । सिल्क ट्रान्सपोर्टले उक्त भेप चीनबाट कन्टेनरमा ल्याएको थियो । सो भेप निगरानीमा राखिदिन सिल्कले भन्सारलाई आग्रह गरेको थियो । आग्रहकै आधारमा भन्सारले उक्त अवैध भेप सुरक्षा दिएर राखेको थियो । भन्सारको सुरक्षामा रहेको भेप चोरी भएपछि चैत २३ गते भन्सार कार्यालयका तीन जना कर्मचारीलाई चोरी आरोपमा प्रहरीले समात्यो । 

उक्त भेप अवैध हुँदासमेत तत्कालीन भन्सार प्रमुख कमलकुमार भट्टराईले भेप जफत गर्नुको सट्टा सुरक्षा दिएर भन्सार कार्यालयमा राख्ने व्यवस्था मिलाउनुभयो । जाँचपास नै नहुने भेप ल्याउने आँट सिल्कले कसरी ग¥यो ? अनि अवैध भेपलाई जफत गर्नुपर्नेमा सुरक्षाका साथ भन्सार कार्यालयले किन राख्यो ? यसबारे भन्सारका कर्मचारीले उत्तर दिन सकेका छैनन् । प्रमुख भट्टराई र सिल्कको मिलेमतोमा ३६ थान भेप चोरी भएको आशङ्का छ । सोही आशङ्काका आधारमा प्रमुख भट्टराईलाई भन्सार विभागले फिर्ता बोलायो । भट्टराईको ठाउँमा मेची भन्सार प्रमुख राजेन्द्र चुँडाललाई तातोपानी भन्सार प्रमुख बनाएर पठाएको छ । 

गत पुसमा सिल्क ट्रान्सपोर्टको ललितपुरको इमाडोलमा रहेको गोदामबाट २५ करोडभन्दा बढी मूल्यको ८६ हजार थान अवैध भेप बरामद र त्यहाँका दुई कर्मचारीलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । बरामद भेपमध्ये धेरै परिणामका भेप तातोपानी भन्सार कार्यालय हुँदै इमाडोल गोदाम पुगेको थियो । पक्राउ परेका दुई कर्मचारीलाई सिल्कका निर्देशक विजय शेर्पाले गत फागुनमा २० करोड १६ लाख रुपियाँ बैङ्क ग्यारेन्टी राखेर छुटाउनुभयो । 

बैङ्क ग्यारेन्टी राखेपछि उक्त भेप सिल्क ट्रान्सपोर्टले नै तस्करी गरेर ल्याएको प्रमाणित हुने आधार बनेको छ । सिल्क ट्रान्सपोर्टका अध्यक्ष सिन्धुपाल्चोक गाती निवासी रमेश शेर्पा हुन् । विजय रमेशका भिनाजु पर्ने नातेदार भएको बताइएको छ । इमाडोलको गोदामबाट पुसमा ठुलो परिणाममा भेप बरामद र कर्मचारी पक्राउ परेपछि रमेश सार्वजनिक भएका थिएनन् । गत चैत ७ गते तातोपानी नाका र भन्सार कटाएर ना ६ ख ५४९६ नम्बरको कन्टेनर बाह्रबिसेको खोर्सानीबारीबाट प्रहरीले गाडीसहित ७४० थान भेप बरामद र चालकलाई पक्राउ गरेको थियो । उक्त भेप कसरी २६ किलोमिटर दुरी कटाएर बाह्रबिसे आइपुग्यो ? यसबारे भन्सारका कर्मचारी, सुरक्षाकर्मीको मिलोमतो रहेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।