ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ४ गते । म्याग्दीको पर्यटकीयस्थल टोड्को जोड्ने सडक स्तरोन्नति योजना सञ्चालन गरिएको छ । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको एक करोड रुपियाँबाट सडक स्तरोन्नति थालिएको हो ।
मङ्गलाको वडा नम्बर १ कुहुँदेखि पूर्णगाउँ हुँदै र रघुगङ्गा गाउँपालिका–५ झिँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति योजना सुरु भएको हो । उक्त दुवै तर्फका सडक करिब १२ वर्ष अगाडि ट्रयाक खुलेका सडक हुन । बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक जिर्ण र साघुरो भएका कारण पर्यटहरूलाई सास्ती हुँदैआएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले ठेक्कामार्फत सडक स्तरोन्नति योजना सञ्चालन गरिएको रघुगङ्गा गाउँपालिका–५ झिँका वडाध्यक्ष मनबहादुर शेरमन्जाले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर गोपीचन्द्र आचार्यले जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी आचार्य निर्माण सेवासँग ६५ लाख ३८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार योजनामा सडकको घुम्ती सुधार, माटो सम्माउने, सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल, मेसनरी पर्खाल र नाली निर्माण गरी सडक स्तरोन्नति योजना अन्तिम चरणमा पुगेको छ । सडक स्तरोन्नति भएपछि टोड्के पुग्ने पर्यटकलाई सहज हुने मङ्गला गाउँपालिका –१ कुहुँका वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।
समुन्द्री सतहदेखि दुई हजार चार सय ३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । यहाँबाट गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्यवलोकन गर्न सकिन्छ ।
स्वर्गद्धारी महाप्रभु लगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्त्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्युठानको शाखा हो ।
बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।
२९ किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकबाट आवत–जावत गर्नेक्रममा प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।
टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी–झिङखानी–चौरखानी–घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । टोड्के पुग्ने सडक स्तरोन्नतिमा पालिकाले प्राथमिकता दिएर योजना सञ्चालन गरेको उहाँले बताउनुभयो ।