• २० असोज २०८१, आइतबार

खोलामा पसेको बस्ती–२

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

blog

काठमाडौँ, साउन १६ गते । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो । 

तर, तीन दशकमै धेरै कुरा फेरियो । बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का असार–साउनमा धान रोपाइँ गर्दा हरियाली र मङ्सिरमा सुनौलो हुने फाँट अहिले कङ्क्रिटको सहरमा परिणत भएको छ । बाह्रैमास पानी आउने धाराहिटीको नामोनिसान छैन । उहाँ भन्नुहुन्छ, “बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए । हुँदा–हुँदा अहिले यज्ञमति र चखुँचाखोलालाई अन्डरग्राउन्ड ह्युमपाइपमा हालेर त्यसको अस्तित्व नै कथाजस्तो लाग्ने अवस्था आएको छ ।”

खोलाकै जग्गा नम्बरी

बूढानीलकण्ठको जगडोलबाट सुरु भई धोबीखोलामा मिसिने चखुँचाखोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन । बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बूढानीलकण्ठ–१० मै उहाँको घर छ । घरअगाडि काठमाडौँ महानगरपालिका–७ पर्छ । 

तर, संयोग उहाँका श्रीमान् दीपककुमार श्रेष्ठले जहाँ घर बनाउनुभएको छ, त्यो ठाउँमा पहिले चखुँचाखोला बग्थ्यो । अहिले घरअगाडि कच्ची सडक छ । भित्री सतहमा चार–चार फिटका ह्युमपाइप बिच्छ्याइएको छ । श्रेष्ठले २०६७ मा प्लटिङ गर्ने व्यक्तिसँग किनेर २०६८ मा घर बनाउनुभएको हो । उहाँले भन्नुभयो, “नापीमा बुझ्दा ३० फिटको बाटो भएको प्लटिङको जग्गा हो भन्ने देखाएपछि मैले किनेको हो । नापीमा अहिले पनि यो जग्गा खोलाको हो भन्ने प्रमाणित छैन, नम्बरी रैकर जग्गा भनेर दर्ता छ ।”

बूढानीलकण्ठ–१० कै साततले चोकमा व्यापारिक भवन छ ‘विशाल ट्रेड टावर’ । सँगै जोडिएको छ, अर्को आलिशान भवन । विशाल ट्रेड टावरका मालिक विक्रम श्रेष्ठले एक वर्षअघि मात्रै यो भवन किनेको बताउनुभयो । अर्को भवन स्थानीय तारा रायमाझीको हो । श्रेष्ठको घरले चखुँचाखोलाको आधा भाग छोपेको छ । बाढी आउँदा खोलाले आसपासका क्षेत्र डुबाउने गरेको छ । श्रेष्ठले भन्नुभयो, “मैले एक वर्षअघि मात्रै यो घर किनेको हो । नक्सा पास छ, पहिल्यै गाविसले स्वीकृति दिएर बनेको घर हो ।  अहिले मैले बाहिर मर्मत मात्रै गरेको हो । पहिले के–के भएको थियो, मलाई थाहा भएन ।”

खोला पुर्न चखुँचाकै बालुवा बेचियो

बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईका अनुसार यज्ञमति र चखुँचाखोला पुर्न त्यही खोलाको बालुवा बेचिएको थियो । उहाँका अनुसार बस्ती विस्तारका क्रममा घरबाट निस्किने ढल सीधै खोलामा हालेपछि दुर्गन्ध फैलियो ।

उहाँले भन्नुभयो, “बर्खामा बाढी आउँदा खोलाको समस्या खासै भएन तर हिउँदमा खोलामा ढल बग्ने र दुर्गन्ध फैलिन थालेपछि खोलाको बालुवा बेचेर आएको र स्थानीयवासीले सङ्कलन गरेको पैसाले खोला पुरिएको हो ।”

पूर्वजलस्रोतमन्त्री एवं प्राज्ञ दीपक ज्ञवालीले साना–ठूला भूमाफियाको खोला मास्ने कार्यमा स्थानीय निकाय पनि प्रत्यक्ष संलग्न रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो क्षेत्रमा पैदल हिँडेर अध्ययन गरेको छु, पहिले म यहीँको बासिन्दा हुँ । यो प्रस्ट छ कि, चखुँचा र यज्ञमति खोला मास्ने कार्यमा त्यहाँका व्यापारीदेखि सरकारी संयन्त्रका उच्च ओहोदाकै मानिस संलग्न छन् ।”