• ४ साउन २०८१, शुक्रबार

सूचना टाँस गर्दै सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

blog

अविनाश चौधरी

धनगढी, साउन १५ गते। सुदूरपश्चिम प्रदेश सभाको आइतबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ। 

अपराह्न ३ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। अर्को बैठक साउन १८ गते बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो। 

उहाँका अनुसार आइतबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो। 

सो विधेयकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रदेश सभा सदस्यहरुको विमति रहेको छ। अघिल्लो बैठकमा विधेयकमाथि सामान्य छलफलमा भाग लिनु भएका प्रदेश सभा सदस्यहरुले विधेयकलाई फिर्ता लिन सरकारलाई सुझाव दिनुभएको थियो। 

फलस्वरुप, विधेयकमा सहमति जुटाउनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल चलिरहेको जनाइएको छ। उक्त बैठकमा सहमति नजुटेपछि बैठक स्थगित गरेको बुझिएको छ।