• १९ असोज २०८१, शनिबार

आहा रारा गोल्डकप घाटामा

blog

फाइल तस्बिर ।

कास्की, साउन १४ गते । पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय रुपियाँ घाटा लागेको छ ।     

प्रतियोगिता आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार रुपियाँ भएको क्लबले जनाएको छ ।     

कोभिड–१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा १२ लाख ६२ हजार आठ सय २६ रुपियाँ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट पाँच लाख एक हजार रुपियाँ, सहारा युकेबाट तीन लाख र सहारा अष्ट्रेलियाबाट एक लाख रुपियाँ थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो ।     

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट चार लाख ९२ हजार रुपियाँसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।     

यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च चार लाख २६ हजार आठ सय ८५ रुपियाँ, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म पोखरामा २०औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जितेको थियो । फाइनलमा एपीएफले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई हराएको थियो ।सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।