• २४ वैशाख २०८१, सोमबार

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

blog

शुक्रबारको प्रतिनिधिसभा बैठकमा छानबिन समितिको प्रतिवेदन पेश गर्नुहुँदै समिति सभापति लक्ष्मणलाल कर्ण ।

काठमाडौं, साउन १३ गते। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। 

शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०७९ समितिका सभापति लक्ष्मणलाल कर्णले पेस गर्नुभएको हो। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गराएको भन्दै समाचार बाहिरिएपछि प्रतिनिधि सभाले असार २२ गते संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। 

समितिले निर्धारित १० दिनमा काम सम्पन्न नगरेपछि साउन ५ गते थप ७ दिन समय थप गरिएको थियो। थप समयभित्र समितिले अर्थ मन्त्रालयबाट कागजात मगाएर अध्ययन गरेको तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरेको सभापति कर्णले जानकारी दिनुभयो। 

उहाँले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदन र सीसीटीभीको रिकभर भएका क्लिपसहितका कागजात र प्रमाण विश्लेषण गरेर प्रतिवेदन तयारी गरिएको बताउनुभएको छ। छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो। पुष्पा भुसाल गौतम उपसभामुख निर्वाचित भएपछि भने सो ठाउँमा मानबहादुर विश्वकर्मालाई राखिएको थियो।

समिति सभापति कर्णले समितिको २३ वटा बैठक बसेको जानकारी गराउनुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक साउन १७ गते मंगलबार दिनको १ बजे बस्नेगरी बोलाइएको छ।