• ७ वैशाख २०८१, शुक्रबार

हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष करिब ११ लाखको मृत्यु

blog

काठमाडौं, साउन १२ गते । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हुनेगर्छ । त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हुनेगरेका छन् । 

वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा. डा. दिलीप शर्माले नेपालमा एकीन तथ्याङ्क नभए पनि नेपालमा एक प्रतिशत जनसङ्ख्यामा हेपाटाइटिस ‘बी’ का बिरामी भएको अनुमान गरिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “नेपालमा करिब एक लाख मानिसमा हेपाटाइटिस ‘सी’ र करिब तीन लाख हेपाटाइटिस ‘बी’ का बिरामी रहेको अनुमान गरिएको छ ।” हेपाटाइटिस ‘सी’ लागूपदार्थ सेवन गर्नेहरुमा बढी देखिएको उहाँको भनाइ छ । लागूपदार्थ प्रयोग गर्ने ९० प्रतिशतमा हेपाटाइटिस ‘सी’ हुने डा. शर्माले जानकारी दिनुभयो । 

धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । हेपाटाइटिसका कारणले वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा हेर्नुपर्नेमा डा. शर्माले जोड दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपटाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ सङ्क्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ । त्यसैगरी हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । 

डा. शर्माको अनुसार विभिन्न सङ्क्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । हेपाटाइटिस कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण संक्रमण हुने उहाँले बताउनुभयो । हेपाटाइटिस लाई ‘ए’, ‘बी’,‘सी’, ‘डी’ र ‘ई’ गरी पाँच प्रकारमा वर्गीकरण गरिएको छ ।

हरेक वर्ष २८ जुलाईमा विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यो वर्ष विश्व हेपाटाइटिस दिवस ‘हेपाटाइटिस उपचारलाई प्राथमिक स्वास्थ्य सुविधा र समुदायको पहुँच नजिक ल्याइँदै’ नाराका साथ मनाउँदै छ । विश्व हेपटाइटिस दिवसको अवसरमा हेपाटाइटिस किन हुन्छ ? नेपालमा हेपाटाइटिस अवस्था कस्तो छ ? लगायत विषयमा केन्द्रित भई वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा. डा. शर्मासँग गरिएको भिडियो संवाद:


भिडियो :मनोजरत्न शाही र केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।