प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १५ गते । पर्यटन विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजनाहरू सञ्चालनका लागि यसअघि विभिन्न उपभोक्ता समितिसँग सम्बन्धित गरी जारी गरिएका सबै पत्र रद्द गरेको छ ।
कार्यालय प्रमुख बबिता जैसवालका अनुसार यसअघि जारी गरिएका पत्रहरू प्रशासनिक तथा प्राविधिक कारणवश रद्द गरिएको हो । यसअघि निमित्त कार्यालय प्रमुखका रूपमा कार्यरत राजेश काफ्ले र कमलेश कुमार मिश्रले जारी गरेका पत्रहरू पनि रद्द गरिएका छन् ।
कार्यालयले जारी गरेको सूचनामा यसअघि जारी गरिएका पत्रहरू अब मान्य नहुने भएकाले सो सम्बन्धमा कुनै पनि कार्य नगर्न–नगराउन अनुरोध गरिएको छ । आवश्यक परेमा नयाँ प्रक्रिया अनुसार पुनः पत्र जारी गरिने उल्लेख गरिएको छ ।
यसअघि निमित्त कार्यालय प्रमुखहरूले प्रक्रिया नअपनाई हचुवाका भरमा आफ्ना आसेपासेलाई उपभोक्ता समितिसँग सम्बन्धित पत्र बाँडेको आरोप लागेको छ । कार्यालय प्रमुख जैसवाल पदभार ग्रहण गरेको दुई दिन नबित्दै विभिन्न व्यक्तिहरू पुराना पत्र लिएर कार्यालयमा आउने क्रम बढेपछि समस्या देखिएको थियो ।
एउटै योजनाका लागि फरक–फरक व्यक्तिलाई छुट्टाछुट्टै पत्र जारी गरिएको समेत पाइएको छ । दुवै निमित्त कार्यालय प्रमुखको सरुवा भइसकेपछि पुरानो मितिमा जारी गरिएका पत्र कार्यान्वयन नगरी पारदर्शी र प्रक्रियागत रूपमा काम अघि बढाउन स्थानीयस्तरबाट माग उठ्दै आएको थियो ।
कार्यालय प्रमुख जैसवालका अनुसार विभिन्न योजनामा गरिएको टेन्डर सार्वजनिक खरिद ऐनअनुसार प्रक्रियागत रूपमा भएमा रद्द नहुनेछ । विगतका बेथितिको अन्त्य गर्दै प्रक्रियासम्मत कार्य अघि बढाउन कार्यालय प्रमुखले चालेको कदम प्रशंसनीय रहेको स्थानीयको भनाइ छ ।