बाजुरा समाचारदाता
बाजुरा, वैशाख १५ गते । बाजुराको पर्यटकीय स्थलका रूपमा रहेको रानीसैन पछिल्लो समय यहाँका बेरोजगार युवाको रोजगारीको माध्यम बनेको छ । रानीसैन अत्यन्तै आकर्षक तथा मनमोहक ठाउँ भएकाले त्यहाँ पुग्नका लागि पनि सहज बाटो नबन्दा गुमनाम जस्तै रहँदै आएको थियो ।
हिमाली गाउँपालिकाले यसको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राखेर बाटो बनाइदिएपछि धेरै बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना भएको छ ।
हिमाली गाउँपालिकाले केही वर्षयता त्यहाँसम्म पुग्ने गोरेटोबाटो निर्माण गरिदिएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि पुग्न थालेका छन् । त्यहाँ पर्यटक पुग्न थालेसँगै गाउँ बस्तीका बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना हुन थालेको हिमाली गाउँपालिका–३, मङ्गलबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको पर्यटकीय स्थल रानीसैनले बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गरिदिएको छ ।”
उहाँका अनुसार केही वर्ष पहिला रानीसैन निकै गुमनाम थियो । अहिले स्थानीय सरकारले यहाँ जाने गोरेटोबाटोसम्म निर्माण गरेपछि यो प्रचारप्रसारमा आउन थालेको छ । अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेपछि उनीहरूको सामान बोकेर पनि यहाँका बेरोजगार युवाले दैनिक तीन हजार रुपियाँसम्म कमाउन थालेका छन् । उहाँ भन्नुहुन्छ, “यो पर्यटकीयस्थललाई अझै व्यवस्थित गर्न सकेमा हिमाली गाउँका स्थानीयको लागि ठुलो अवसर सिर्जना हुन सक्थ्यो । जिल्लाभरिका युवा बेरोजगारी बस्नु पर्दैनथ्यो ।” उहाँका अनुसार अहिले यहाँ आएका पाहुनालाई खाने, बास बस्ने ठाउँ राम्रो छैन । त्यसको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनु पर्छ । जिल्ला सदरमुकाम मार्तडीदेखि करिब १६५ किलोमिटर दुरीमा रहेको यो रानीसैनबाट छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान नजिक पर्छ ।