• १५ वैशाख २०८३, मङ्गलबार

स्वर्णबिन्दु प्राशनमा असमान पहुँच, कतै दोहोर्‍याएर कतै वञ्चित

blog

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १५ गते ।
गुल्मीका दुई स्थानमा ‘स्वर्णबिन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र र रुरुक्षेत्र गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउन थालेका हुन् । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले चैत महिनादेखि यो कार्यक्रम सुरु गरेको हो ।

केन्द्रले वैशाख ११ गते नयाँ तथा पुराना दुवै बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाएको छ । रुरुक्षेत्र गाउँपालिकाले आफ्नै बजेटमा वैशाख ११ गतेदेखि पहिलो चरणको अभियान सुरु गरेको हो । वलेटक्सार आयुर्वेद औषधालय र रिडी आयुर्वेद औषधालयमार्फत कार्यक्रम सञ्चालन गरिएको छ । पहिलो चरणमा करिब सात सय  बालबालिकालाई खुवाउने योजना रहेको र हाल पालिकाभरका बालबालिकालाई यी दुई केन्द्रबाट मात्र सेवा दिइएको रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य सुधार तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै आएको छ ।

आयुर्वेदिक विधिबाट तयार गरिने ‘स्वर्णबिन्दु प्राशन’ बालबालिकालाई खुवाउँदा लाभदायक हुने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रकी डा. अञ्जली पौडेलले बताउनुभयो । उहाँका अनुसार नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, स्मरण शक्ति सुदृढ हुने तथा शारीरिक र मानसिक विकासमा सहयोग पुग्छ । चिकित्सकीय सल्लाहअनुसार करिब ३० डोजसम्म सेवन गराउँदा अझ प्रभावकारी हुने उहाँले बताउनुभयो ।

तर ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमको पहुँच जिल्लाका सबै बालबालिकासम्म पुग्न सकेको छैन । कार्यक्रम प्रभावकारी भए पनि दुर्गम क्षेत्रका बालबालिकाले सेवा नपाउनु उनीहरूको अधिकारसँग जोडिएको विषय हो । हाल गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा सदरमुकाम आसपासका बालबालिकाले मात्र पाएका छन् ।

सबै स्थानीय तहमा सेवा विस्तार गर्न बजेट र कार्यक्रम अभाव रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले बजेट र कार्यक्रम बनाएमा आवश्यक अभिमुखीकरण, सहयोग र समन्वय गर्न केन्द्र तयार छ ।

पहिलो चरणमा चैत महिनामा ९२५ र वैशाखमा करिब एक हजार दुई सय  बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाइएको बस्यालले बताउनुभयो । हालसम्म गुल्मीदरबार बाहेक अन्य स्थानीय तहमा आयुर्वेद औषधालय र आरोग्य केन्द्रहरू रहेका छन् ।

गुल्मीदरबारमा पनि स्थापना प्रक्रिया अघि बढिरहेको छ । तर, रेसुङ्गा नगरपालिका र रुरुक्षेत्र बाहेकका अन्य १० स्थानीय तहका बालबालिकालाई पनि सेवा विस्तार गर्नुपर्ने माग उठ्न थालेको छ ।

मालिका गाउँपालिका–६ अर्जेका पूर्व वडाध्यक्ष शोभाखर गिरीले राज्यले बालबालिकामाथि विभेद गर्न नहुने बताउनुभयो । उहाँका अनुसार सरकारहरूबीच समन्वय अभावका कारण सदरमुकामका बालबालिकाले दोहोर्‍याएर सेवा पाउँदा मालिका, मदाने, कालिगण्डकी र चन्द्रकोटजस्ता दुर्गम क्षेत्रका बालबालिका वञ्चित हुनु न्यायोचित होइन ।