अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १५ गते । छ तोला सुनका गरगहना सहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाउने ट्याक्सी चालक लोकबहादुर थापालाई सम्मान गरिएको छ । स्याङ्जा–पोखरा रुटमा ट्याक्सी चलाउँदै आएका थापाले पुतलीबजार नगरपालिका–३ मजुवामा झोला भेट्टाएपछि प्रहरीलाई बुझाउनुभएको थियो ।
पुतलीबजार नगरपालिका–१० राङखोला निवासी ३२ वर्षीया अनिता अधिकारी स्कुटरमा स्याङ्जाबाट पोखरा जाने क्रममा सुनका गरगहना भएको झोला सिद्धार्थ राजमार्गमा खसेको थियो ।
छोरीसहित यात्रा गरिरहेकी अधिकारीले तीनवटा झोला बोक्नुभएको सिथयो । झोला हराएको थाहा पाएपछि उहाँले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा खबर गर्नुभएको थियो ।
झोलाभित्र दुई तोलाको सिक्री, एक तोलाको हार, बेरुवा औँठी एक थान, पोतेसहितको सुनको माला एक थान र चन्द्रमा एक थान रहेको थियो । थापाले प्रहरीलाई बुझाएको उक्त झोला जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई फिर्ता गरेको हो ।
सुनसहितको झोला बुझाएका थापा र उहाँकी श्रीमतीलाई प्रहरीले फूलमाला र खादा लगाएर सम्मान गरेको थियो भने अधिकारीले कृतज्ञतास्वरूप नगद प्रदान गर्नुभएको थियो ।
निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले थापाको इमान्दारिताको प्रशंसा गर्दै हरेक नागरिकमा यस्तै इमान्दारिता हुनुपर्ने बताउनुभयो । स्थानीयवासीले पनि चालक थापाको कामलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् । झोलाभित्र रहेका गरगहनाको हालको बजार मूल्य करिब १८ लाख रुपियाँ बराबर रहेको प्रहरीले जनाएको छ ।