• १३ वैशाख २०८३, आइतबार

सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकको माग

blog

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घको पत्रकार सम्मेलन ।

काठमाडौँ, वैशाख १३ गते । अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीले आफूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आबद्ध गर्न सरकारसँग माग गरेका छन ।

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।आफूको पेसागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारलाई दबाब दिनुपरेको महासङ्घका केन्द्रिय तदर्थ समितिका सदस्य शङ्कर जिसीले बताउनुभयो ।

उहाँले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मानजनक ढङ्गले गोल्डेन ह्यान्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनुभयो ।

जिसीले भन्नुभयो,“उमेर पुगेका तथा स्वेच्छिक रूपमा पेसाबाट बाहिरिन चाहने राहत तथा अस्थायी प्रकृतिका शिक्षकलाई सम्मानजनक गोल्डेन ह्यान्डसेक सुविधा उपलब्ध गरिनुपर्ने । राहत तथा सम्पूर्ण अस्थायी प्रकृति शिक्षक कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेसागत निरन्तरता सुनिश्चित गरिनुपर्ने ।”

महासङ्घले आफूहरूको माग सम्बोधन हुनेगरी शिक्षा सम्बन्धी ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।