रमेश विश्वकर्मा
गुल्मी, वैशाख १३ गते । गुल्मीको इस्मा गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–१ हर्पुकोट भेडाबारीस्थित दाजुभाइ नाता पर्ने टंकराज घिमिरेको घरमा बस्दै आएका ८७ वर्षीय नेरुप्रसाद घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार घिमिरे अमला टिप्न जान्छु भन्दै घरबाट हिँडेका थिए । लामो समयसम्म घर नफर्किएपछि आफन्त तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनलाई सोही वडाको ठुलाखोलाको बगरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेका हुन् ।
घटनाबारे बैशाख १३ गते बिहान करिब ८ बजे स्थानीयले प्रहरी चौकी हस्तिचौरलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी हवल्दार राधेश्याम यादवको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो र स्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। मृतकका श्रीमती तथा सन्तान कोही नभएको प्रारम्भिक बुझाइ रहेको छ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार के।सी।को नेतृत्वमा सोकोसहित पाँच जनाको टोली खटिएको छ। उक्त घटनास्थल प्रहरी चौकी हस्तिचौरबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ।