कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख १३ गते । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले घर–टहरा तत्काल हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ संरचना हटाउन सुरु गरेका छन् । बुटवल उपमहानगरपालिका–४ मा पर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलास अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गराउन सुरु गरिएको हो ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नम्बर ३९६ मा बनाइएका संरचना हटाइँदै छन् ।
सङ्घीय सरकारले काठमाडौँका सुकुमवासी बस्ती खाली गराउन थालेसँगै रूपन्देहीमा पनि अतिक्रमित सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको हो ।
बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङमार्फत सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि आइतबार बिहानैदेखि त्यहाँ रहेका आधा दर्जन टहराधनीले आफ्ना सामान अन्यत्र सार्न थालेका बुटवल–४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।

साबिक वडा नम्बर ६ (हाल वडा नम्बर ४) अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७८१२६११३४०) को करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा बनेका घर–टहरा हटाउन उपमहानगरले सार्वजनिक सूचना जारी गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवका अनुसार बिहान १० बजेपछि डोजर प्रयोग गरी संरचना हटाइने छ ।
उहाँले भन्नुभयो, “१० बजेसम्म नापीको काम सकिन्छ, त्यसपछि डोजर चलाएर सरकारी स्वामित्वमा बनेका संरचना हटाइन्छन् ।” उपमहानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यस्ता अतिक्रमणविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ ।





