• ९ वैशाख २०८२, मङ्गलबार

उपत्यकाको फोहोर बिहीबारदेखि पुनः व्यवस्थापन हुने

blog

फाइल तस्बिर

काठमाडौं, साउन ११ गते । एक हप्तादेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर बिहीबारदेखि पुनः व्यवस्थापन हुने भएको छ । 

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहोर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।

बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहोर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ ।

कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । 

यसैबीच कामपाले उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ ।

कामपाले फोहोरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहोर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ ।