• ६ वैशाख २०८३, आइतबार

राजमार्ग सुरक्षित बनाउने प्रयास

blog

सिद्धार्थ राजमार्गलाई व्यवस्थित गर्न बसेको सर्वपक्षीय भेला ।

वालिङ समाचारदाता

वालिङ (स्याङ्जा), वैशाख ६ गते । सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा पर्ने पालिकाले सवारी व्यवस्थापनप्रति सक्रियता देखाउन थालेका छन् । साँघुरो र घुम्तीयुक्त सडकमा जथाभाबी सवारीसाधन पार्किङ गरिँदा दुर्घटना बढेको भन्दै स्थानीय तह यसको व्यवस्थापनमा लागेका छन् । 

जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ नगरपालिकाले राजमार्गको व्यवस्थापनका लागि योजनाबद्ध रूपमा काम गर्न सुरु गरेका हुन् । प्रशासन, प्रहरी तथा विभिन्न यातायात समितिको सहभागितामा भएका छलफलमा पार्किङ व्यवस्थापन गर्ने सहमति जनाएका हुन् । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका अन्तर्गतको राजमार्गमा वैशाख १ गतेबाट नै पार्किङलाई व्यवस्थित गर्न सुरु गरिएको छ । 

त्यसै गरी वालिङ नगरपालिकामा आगामी वैशाख १० गतेबाट कडाइका साथ राजमार्गलाई सहज बनाउने सहमति भएको छ । गल्याङ नगरपालिकाले पनि साँघुरो सडकमा जथाभाबी पार्किङ गर्नेलाई कारबाही गर्ने गरी काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा सरोकारवालाबिच गरिएको छलफलले तोकिएको स्थानबाहेक जथाभाबी पार्किङ नगर्न/नगराउन सूचित गरेको थियो । स्याङ्जाको मध्यभागमा पर्ने सिद्धार्थ राजमार्ग यहाँको फेदीखोला, पुतलीबजार, भिरकोट, वालिङ र गल्याङ नगरपालिकामा गरी ८२ किलोमिटर क्षेत्र पर्दछ । वालिङमा भएको छलफलमा साँघुरो रहेको यो सडकखण्डमा सवारीसाधन जथाभाबी पार्किङ गर्दा हुन सक्ने दुर्घटना वा जोखिमका बारेमा छलफल गरिएको थियो । 

पालिका तहमा भएका सरोकारवालाको छलफल मुख्य राजमार्गमा कुनै पनि प्रकारका सवारीसाधन पार्किङ गर्न नपाइने र तोकिएको ठाउँमा मात्रै यात्रु चढाउन र ओराल्न पाइने निर्णय गरिएको हो । यस्तै जथाभाबी निर्माण सामग्री राख्नेलाई समेत कारबाही गर्ने पालिकाको तयारी छ । 

जिल्ला प्रशासनमा भएको छलफलमा राजमार्गले छोएका स्थानीय पालिकालाई सडक व्यवस्थापनका लागि सहकार्य गर्ने निर्णय गरिएको थियो । मोटरसाइकल पार्किङ नगरपालिकाको भित्री सडकमा गर्नुपर्ने, मुख्य राजमार्ग तथा भित्री सडकपेटीमा फुटपाथ पसल, अवैध संरचना तथा निर्माण सामग्री राख्न नपाइनेलगायतका निर्णय पालिकाले गरेका छन् । निर्णय कार्यान्वयनको प्रक्रिया नमानेमा आवश्यक कारबाही अगाडि बढाउने स्थानीय तहको तयारी छ ।

जिल्लाको मुख्य क्षेत्र वालिङ नगरपालिकाभित्र वैशाख १० गतेदेखि सिद्धार्थ राजमार्गको सडक क्षेत्रमा कुनै पनि प्रकारका सवारीसाधन पार्क गरेर राख्न पाइने छैन । सडक किनारामा थुपारिएका ढुङ्गा, बालुवा, इँटालगायतका कुनै पनि निर्माण सामग्री राख्न निषेध गरिएको वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । मर्मतका लागि ग्यारेजमा ल्याइएका मोटरसाइकल वा अन्य सवारीसाधन राजमार्गको सीमाभित्र राख्न पाइने छैन । सडकलाई खुला र अवरोधरहित बनाउन सडक मिचेर राखिएका सामग्री तुरुन्त हटाउनुपर्ने छ । वालिङ नगरपालिका र ट्राफिक प्रहरीले यो नियम कडाइका साथ लागु गर्ने तयारी गरेको पालिकाले जनाएको छ ।

बढ्दो सवारी चाप र सडक दुर्घटना न्यूनीकरणका लागि यो कदम चालिएको बताउँदै स्थानीय तहले यस अभियानमा साथ दिन सम्पूर्ण नगरवासी, यातायात व्यवसायी र व्यापारीलाई अनुरोध गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।