अमरराज नहर्की
तनहुँ, वैशाख ३ गते । व्यास नगरपालिका–१० मा सञ्चालित ‘वैरेनी जग्गा एकीकरण आयोजना’ को काम अन्तिम चरणमा पुगेको छ । यसअघि नै पूर्वाधार निर्माणको काम तीव्रताका साथ अघि बढिरहेकोमा, थप व्यवस्थापकीय सहजताका लागि बिहीबार आयोजित एक कार्यक्रमबिच आयोजनाको कार्यान्वयन इकाई कार्यालय उद्घाटन गरिएको छ ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यालयको उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्न यो आयोजना कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दमौली र भादगाउँ क्षेत्रमा तीव्र सहरीकरण भइरहेको छ । भावी पुस्ताका लागि समेत बस्न योग्य आधुनिक सहर निर्माण गर्ने उद्देश्यले हामीले नगर विकास कोषसँगको सहकार्यमा यो आयोजना अघि बढाएका हौँ। बैरेनीलाई देशकै लागि व्यवस्थित सहरको नमुना अध्ययन स्थल बनाउने हाम्रो लक्ष्य छ ।”
कार्यक्रममा नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले दीर्घकालीन सहरी विकासका लागि जग्गा एकीकरण नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । आयोजनाका प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलका अनुसार हालसम्म आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भइसकेको छ। सडक सञ्जाल, टेवा पर्खाल र ढल निकासको काम सम्पन्न भइसकेको र अब खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माणलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक यति व्यवस्थित सहर निर्माणको प्रयास बैरेनीबाटै थालिएको उहाँको दाबी छ ।
कुल नौ करोड २४ लाख ७० हजार रुपियाँको लागतमा सञ्चालित यस आयोजनाको प्रथम चरणमा २६१ रोपनी जग्गामा काम भइरहेको छ । सुरुवाती चरणमा स्थानीयबाट केही विरोध भए पनि अहिले यसको सफलता देखिन थालेपछि स्थानीय जग्गाधनीहरू आयोजनाको क्षेत्रफल विस्तारको माग गरिरहेका छन् ।
वडा नं. १० का निवर्तमान अध्यक्ष एवं नगर विकास समितिका सदस्य तुलसीराम सापकोटाले ५० वर्षपछिको व्यवस्थित विकास अहिले नै देखिन थालेपछि बाँकी क्षेत्रफललाई पनि आयोजनामा समेट्न स्थानीयको दबाब रहेको बताउनुभयो । वडा नं. १० का अध्यक्ष खेमराज पोख्रेल, वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ र आयोजना उपभोक्ता समितिका अध्यक्ष श्रीराम कुँवरलगायतले आयोजनालाई सफल पार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको थियो ।