• १३ साउन २०८१, आइतबार

बाल श्रमिकबाट उद्योग सञ्चालक भएका मौर्या

blog

सोमनाथ मौर्याले सञ्चालन गरेको उद्योगमा ब्याग निर्माण गरिदै कामदारहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु साउन ९ गते । कपिलवस्तु शिवराज नगरपालिका –४ का सोमनाथ मौर्या १३ वर्षको उमेरमा झोला उद्योगका श्रमिक हुनुहुन्थ्यो । विपन्न परिवारका मौर्या रोजगारको सिलसिलामा बाल श्रमिक बन्न भारत पुग्नुभएको थियो । अहिले आफ्नै उद्योगको मालिक बन्न सफल हुनुभएको छ । 

१७ वर्षसम्म झोला सिउने काम गर्नुभयो । तीन कम्पनीमा काम गरेको अनुभव संगाल्नुभएका मौर्याले चार वर्ष अघि आफै उद्योग सञ्चालन गरेपछि मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 

मौर्याले साथीसँग १ लाख २० हजार रुपियाँ सापटी मागेर आफ्नै टोलमा मौर्या ब्याग उद्योग सञ्चालन गर्नुभयो । सीप जान्यो भने स्वदेशमा स्वरोजगार हुन सकिने रहेछ मौर्याको भनाइ छ । म करिव २ दशक श्रमिक भएर काम गरें, त्यहाँ न्यून ज्याला र मालिकले दिएको यातना सहेर काम गरें मौर्याले भन्नुभयो, “सीप सिकेपछि म आत्मनिर्भर भएको छुँ । उद्योगमा हाल १४ लाख रुपियाँ लगानी थप्न सफल भएको छुँ ।”

उद्योग सञ्चालन भएको वर्ष सापटी लिएको पैसा चुक्ता गरेको उहाँले बताउनुभयो । चार कक्षासम्म अध्ययन गर्नुभएका सोमनाथले चार बर्षदेखि ब्याग उत्पादन गर्दै आउनुभएको छ । मासिक औषत डेढ लाख रुपियाँ आम्दानी हुनेगरेको उहाँले बताउनुभयो ।  

उद्योगमा चार जना कामदारले रोजगारी पाएका छन् । उत्पादन गरेको झोला घरबाटै बिक्री हुनेगरेको मौर्याले बताउनुभयो । स्थानीय र चन्द्रौटा आसपासका बजारका व्यापारीहरुले थोक मूल्यमा खरिद गर्न आउनेगरेको उहाँले बताउनुभयो । उद्योगमा स्कुल ब्याग, यात्रा गर्दा बोक्ने ब्याग, पछाडि भिर्ने ब्याग उत्पादन गरिदैआएको उहाँको भनाइ छ । दैनिक औषत १ सय ब्याग उत्पादन हुनेगरेको मौर्याले बताउनुभयो ।