गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्गमा तेल ट्याङ्करलाई शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ । ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनुभएको अलजजिरा टेलिभिजनले जनाएको छ ।
उहाँले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र हर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रूपमा गैरजिम्मेवार बनिरहेको उल्लेख गर्नुभएको छ । युद्धविराम लागु भएपछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहीबार कुनै पनि जहाजले हर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो ।
यसैबिच अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिबद्धता पालन गरेन भने युद्धविरामको तुरुन्तै अन्त्य हुने पुष्टि गर्नुभएको छ । यसअघि बुधबार राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई साताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गर्नुभएको थियो ।
उता जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबिच हालै सहमति भएको दुईहप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ । बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताउनुभयो तर उहाँले पश्चिम एसियामा समग्र अवस्था अझै पनि निकै संवेदनशील र अस्थिर रहेको उल्लेख गर्दै सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
अमेरिका र इरानबिच भएको युद्धविरामपछि प्रत्यक्ष वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना हुँदै छ । यस वार्तामा सहभागी हुन जर्मनीको एक उच्चस्तरीय वार्ता टोली पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ । मर्जले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफसँग टेलिफोन संवाद गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो, जसमा वार्ताको तयारी र समन्वयबारे छलफल हुने अपेक्षा गरिएको छ ।