• १९ असार २०८१, बुधबार

पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छ : अध्यक्ष दाहाल (भिडियो)

blog

फाइल तस्बिर

काठमाडौं, साउन ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो ।

अर्बको निर्वाचनबाट दलाल पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।


अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको उहाँको भनाइ छ ।

स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपियाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्नुहुँदै उहाँले सङ्घ र प्रदेश चुनावमा सांसदको खर्च एक अर्बमाथि हुने औंल्याउनुभयो ।

अध्यक्ष दाहालले श्रमजीवि जनता र क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने कुरा सपना झैँ भएको बताउनुभयो । अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने उहाँको भनाइ छ ।

देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी उहाँको छ । उहाँले  परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृत्ति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गर्नुभयो ।

उहाँले माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाति र समुदायले सुख नपाउने बताउनुभयो । अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसङ्गति देखापरेको उल्लेख गर्नुभयो ।