• १५ वैशाख २०८१, शनिबार

यथाशीघ्र उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

रुखले बस र स्कुटर च्याप्दा तीनको मृत्यु, १५ घाइते

blog

तस्बिर : केशब राज पौडेल

काठमाडौं, साउन ८ गते । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । साथै, १५ जना घाइते भएका छन् ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । मृृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको शर्माले जानकारी दिनुभएको छ । मृतक २५ वर्षीय विशेष खर्वुजाको सनाखत भएको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।


घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई घाइतेहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिनुभएको छ ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताउनुभयो ।