• ५ असोज २०८१, शनिबार

गीत प्रतियोगितामा मुनचुन पुरस्कृत

blog

मधुश्रावणीको अवसरमा आयोजित गीत प्रतियोगीताबाट पुरस्कृत हुँदै मुनचुन झा । तस्बिर : माला कर्ण

माला कर्ण

कल्याणपुर, साउन ८ गते । मधुश्रावणी पर्वको अवसरमा आयोजित मैथिली गीत प्रतियोगीतामा मैथिल भाषाकी गायिका मुनचुन देब झा ‘प्रिया’ पुरस्कृत हुनुभएको छ । प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट यस वर्ष तिरहुत गाउँपालिका –१ की प्रिया पुरस्कृत हुनुभएको हो । 

पुरस्कृत गायिका एवम् रेडियोकर्मी प्रियालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मानपत्र, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले नगद पुरस्कार र झाले दोसल्ला ओढाएर सम्मानित गर्नुभयो । पुरस्कारको राशी २ हजार पाँचसय रुपियाँ छ ।

मैथिल महिला परिषद्द्वारा मैथिली भवन राजविराजमा आयोजित नवविवाहिता महिलालाई शुभकामना प्रदान कार्यक्रममा पुरस्कृत हुनुभएकी प्रियाले छनौट समितिलाई धन्यवाद दिनु हुँदै मधुश्रावणी गीत सुनाउनुभयो ।

मैथिली साहित्य परिषद्की आजिवन सदस्य गायिका उर्मिला झाको चार वर्षअघि मधुश्रावणी पर्वकै समयमा विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । झाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आउनुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले धर्म, संस्कार, संस्कृति र भाषालाई जोगाउन महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । जीवनाेपयोगी संस्कारलाई जीवित राख्दै समाजमा विद्यमान ढोंगी कुप्रथा, कुरीति, बिकृति हटाउन महिला अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले हरेक चाडपर्वले झै भाषासंस्कृतिले समाजलाई जोड्ने बताउनुभयो । परिवारमा स्नेह, दाम्पत्य जीवन सुखमय बनाउन र विविधितायुक्त समाजलाई जोड्न चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेलले मनोरञ्जन, बालपन र खुलापनको आभाष प्रदान गर्ने मधुश्रावणी पर्व परिवारमा सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम, मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध र जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व रहेको बताउनुभयो ।