• १९ चैत २०८२, बिहिबार

कुवेतबाट नौ शवसहित श्रमिक ल्याइयो

blog

सांकेतिक तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, चैत १९ गते । खाडी क्षेत्रमा विकसित युद्धजन्य अवस्थाको प्रभावका कारण कुवेतमा अलपत्र परेका नेपाली श्रमिकसहित नौ जनाको शव बुधबार साँझ स्वदेश ल्याइएको छ । कुवेत एयरवेजको चार्टर विमानमार्फत ती शव नेपाल ल्याइएको हो । मृतकमध्ये चार जना महिला रहेका छन् ।वैदेशिक रोजगार बोर्डका अनुसार स्वदेश ल्याइएका मृतकमा सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तान पाख्रिन र कास्कीका रमेश नेपाली हुनुहुन्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार शवलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित परिवारसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका करिब ३१८ जना नेपाली श्रमिकलाई समेत चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ । विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार कुवेत एयरवेजको ‘बोइङ ७७७–३००’ वाइडबडी विमानले उनीहरूलाई बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कुवेतबाट उडेको उक्त विमान दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने पूर्वसूचना गरिएको भए पनि ७:३० बजे मात्र विमान अवतरण गरेको थियो । रावतका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडान व्यवस्था गरिएको हो । उहाँले कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको जानकारी दिनुभयो । यात्रुलाई भैरहवामा अवतरण गरेको विमान बिहीबार १० बजे पाकिस्तानको लाहोरतर्फ प्रस्थान गर्ने तालिका छ ।

गत १६ फागुनदेखि अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण र त्यसको प्रतिकारस्वरूप इरानले कुवेतसहित बहराइन, साउदी अरब, कतार र ओमानमा गरेको शृङ्खलाबद्ध आक्रमणका कारण क्षेत्रको हवाई सेवा प्रभावित बनेको थियो । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलसमेत केही समय बन्द हुँदा उद्धार तथा शव व्यवस्थापन प्रक्रिया प्रभावित भएको थियो ।