• २१ असार २०८१, शुक्रबार

भर्‍याङभरि भगवान्का तस्बिर

blog

मालपोत तथा नापी कार्यालयको भर्‍याङमा टाँसिएको भगवान्का । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, साउन ८ गते ।  बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो । 

मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । 

जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ । कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।

नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध ग-यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।” 

उहाँले भगवान्का तस्बिरमा थुक्न थालेकाले यसलाई नियन्त्रण गर्न अरू उपाय अपनाउनुपर्ने देखिएको बताउनुभयो । यस्तो प्रवृत्ति बारामा मात्र नभई अन्य जिल्लामा पनि उत्तिकै रहेको पाइन्छ । पर्खालबाहिर शौच गरिदिने भएकाले पर्खालमा भगवान्का 

तस्बिर राखिएको सरकारी कार्यालयका कर्मचारीहरू बताउँछन् । मालपोत कार्यालय बाराका प्रमुख गोपालप्रसाद बरालले दिनहुँ सेवा लिने सयौँ सेवाग्राहीले भित्ताभरि थुकेर रातो पारिदिएपछि त्यसलाई नियन्त्रण गर्न भगवान्का तस्बिर राख्नुपरेको बताउनुभयो । 

राष्ट्रिय वाणिज्य बैङ्क कलैयाका शाखा प्रबन्धक प्रवेश सिन्घुलियाले जथाभावी नथुक्न भगवान्का तस्बिर राखिए पनि यो उपायले काम नगरेको गुनासो गर्नुभयो । 

उहाँ केही दिनअघि मात्र ती तस्बिर हटाएर सफा बनाउन लगाउनुभएको छ तर केही दिनमै सेवाग्राहीले फोहोर गर्नेमा चिन्तित हुनुहुन्छ ।