गोरखापत्र समाचारदाता
ललितपुर, चैत २५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका समूहका नेतासँग छलफल गर्नुभएको छ ।
एमाले मुख्यालय च्यासलमा मङ्गलबार विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनमा सक्रिय एमाले जनसङ्गठन नेपाल बौद्धिक परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया, राष्ट्रिय युवा सङ्घका उपमहासचिव उपेन्द्र शाही र अनेरास्ववियुका उपमहासचिव कमल जोशीसँग छलफल गर्नुभएको हो ।
छलफलमा सहभागी राष्ट्रिय युवा सङ्घका उपमहासचिव उपेन्द्र शाहीले एमाले इतिहासकै गम्भीर मोडमा आइपुगेकाले निर्मम समीक्षा गर्न विशेष महाधिवेशन आवश्यक हुने विचार पदाधिकारीलाई राखेको बताउनुभयो ।
उहाँले आम कार्यकर्ता र मतदातासँगको परामर्श सुझावको आधारमा केन्द्रीय कमिटीले नै विशेष महाधिवेशन बोलाउन सुझाव दिएको बताउनुभयो । उहाँले केन्द्रीय पदाधिकारीले हस्ताक्षर अभियान चलाउँदा हुने फाइदा बेफाइदाबारे राम्रोसँग सोच्न अनुरोधसमेत गर्नुभएको थियो । तर एमाले बचाउने हो भने विशेष महाधिवेशनको विकल्प नभएको स्पष्टसँग कुरा राखेको उहाँले उल्लेख गर्नुभयो ।
केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउँदै एमालेको ११ औँ महाधिवेशन सकिएको साढे ३ महिना मात्र हुँदै छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सङ्कलन हुन थालेपछि संस्थापन पक्षले विरोध जनाउँदै आएका छन् । संस्थापन पक्षका युवा सङ्घका नेता निरोज पौडेलले यस्तो अवस्थामा हस्ताक्षर सङ्कलन गरेर पार्टीलाई गुट उपगुट सिर्जना गरेर कमजोर पार्न नहुनेमा जोड दिनुभयो ।
अभियानमा एमालेका केन्द्रीय कमिटी सदस्य, जनवर्गीय सङ्गठनका पदाधिकारीसमेतको सहभागितामा रहेको हस्ताक्षर सङ्कलन गरिरहेका नेताको दाबी छ । अहिलेसम्म चार सयभन्दा धेरैले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ ।