• १७ असार २०८१, सोमबार

उत्कृष्ट कर्मचारी र वनकर्मी पुरस्कृत

blog

वन क्षेत्रमा उत्कृष्ट योगदान गर्नेलाई पुरस्कृत गरिँदै । तस्बिर–चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले उत्कृष्ट कर्मचारी र वनकर्मीलाई पुरस्कृत गरेको छ । डिभिजन वन कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारी र सामुदायिक वन तथा निजी वनमा योगदान गर्नेलाई कार्यालयले पुरस्कृत गरेको हो ।

डिभिजन वन कार्यालयको विभिन्न जिम्मेवारीमा रहेर आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिनुभयो । डिभिजनल वन अधिकृत शाहका अनुसार कार्यसम्पादनको मूल्याङ्कनका आधारमा विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा वन कार्यालयमा कार्यरत फरेस्टर कमला खतिवडा तथा वनरक्षकहरुमा प्रेमबहादुर लिम्बू, चन्द्रबहादुर तुम्बापो र सुरेश सिग्देल रहनुभएको छ । 

यस्तै, सामुदायिक वन क्षेत्रमा उत्कृष्ट काम गर्ने पदाधिकारीतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेस्थित सयपत्रीपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्णहाङ लिम्बूलाई पुरस्कृत गरिएको छ । लिम्बूलाई पाँच हजार रुपियाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । 

निजी वनकर्मी अर्थात् वनका धनीहरु फुङ्लिङ नगरपालिका–८ दोखुका हरिप्रसाद घिमिरे, सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका देउबहादुर लिम्बू र आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका जयनारायण बास्कोटा पुरस्कृत हुनुभएको छ । घिमिरे, लिम्बू र बास्कोटालाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको वन कार्यालयले जनाएको छ । 

यसैगरी, समूहतर्फ तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता समूह फुङ्लिङ नगरपालिका–४, ५, ७ र ८ लाई १८ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिएको छ । मेरिङ्देन गाउँपालिका–५ थुकिमाको घुमाउने पातल सामुदायिक वन उपभोक्ता समूहलाई १२ हजार रुपियाँ र मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको कात्तिके सातापाखा सामुदायिक वन उपभोक्ता समूहलाई नौ हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । 

पुरस्कृत कर्मचारी, समूह र वनकर्मीलाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतले पुरस्कार रकम तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । जिम्मेवारी निर्वाहमा उत्कृष्ट काम गर्ने कर्मचारी र वन संरक्षण तथा वातावरण जोगाउनमा योगदान पु¥याउने समूह तथा समूहका पदाधिकारी र निजी वनका धनीलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको डिभिजनल वन अधिकृत शाहले बताउनुभयो ।