• ४ असार २०८१, मङ्गलबार

नागरिकता विधेयक सहमतिमा पारित हुने गृहमन्त्रीको विश्वास

blog

प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, साउन ६ गते। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गर्न सिंगो सदनमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधन कर्ताले राखेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनुभयो। 

गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मुल आधारशीला नै नेपाली आमा र बुवा भएकाले नै नागरिकता पाउने गरेर नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताउनुभयो। उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनुभयो। 

गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतको लागि सबैले सहमति गरेर नागरिकताबिहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको उल्लेख गर्नुभयो। 

गृहमन्त्री खाणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गर्नुभयो।  नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए।