सन्तोष दहि
दाङ, चैत ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभएको हो ।
उहाँले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजबीच ‘विविधतामा एकता’को भावना अझ सुदृढ बन्दै गएको बताउनुभएको छ । ईद–उल–फित्रले त्याग, संयम, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै उहाँले यस पर्वले समाजमा प्रेम, सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको जनाउँदै मुख्यमन्त्री आचार्यले समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पार्नुभएको छ ।