• १२ असोज २०८१, शनिबार

कर्णालीको माथिल्लो क्षेत्रमा भारी वर्षा

blog

जुम्ला र मुगु कर्णालीमा बढेको बाढीले नाग्मको कृष्णमन्दीसँगै बजार जोखिममा । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालिकोट, साउन ६ गते ।
कर्णाली प्रदेशको माथिल्लो क्षेत्र अर्थात हिमाली भेगमा भारी वर्षा भएको छ । नदीमा पानीको बहाव निकै बढेपछि माथिल्लो क्षेत्रमा वर्षा धेरै भएको पुष्टि भएको हो ।

अहिले तिलाकर्णाली र मुगु कर्णालीमा पानीको बहाव निकै बढेको छ । दुई दिनयता कालिकोट, जुम्ला जिल्लामा हल्का पानी परेको भए पनि नदीमा भने पानीको स्रोत निकै बढेको छ ।

सिजा क्षेत्र भएर बग्ने मुगु कर्णालीमा पानीको बहाव बढेको छ भने जुम्ला कर्णालीमा पनी पानीको मात्र बढेर कालिकोटको नाग्म बजार दोभानमा रहेको कृष्ण मन्दिर जोखिममा परेको छ । जुम्ला कर्णालीभन्दा पनि मुगु कर्णालीमा पानीको स्रोत निकै बढेको छ ।

माथिल्लो क्षेत्रमा धेरै वर्षा भएर कर्णालीमा बाढी आएको हो । बाढीका कारणले नाग्म मुगु सडकसमेत अवरोध भएको स्थानीयले बताएका छन् । नाग्ममा व्यापार गर्दै आउनुभएका रामवीर बोहोराले दुई दिन यता खोलामा पानी निकै बढेको र गाडीसमेत नचलेको बताउनुभयो ।

‘‘जुम्ला कालीकोटका सडकमा गाडी चलेका छन् । नाग्मबाट सिजा क्षेत्र हुँदै मुगु जाने यातायात पुरै ठप्प छन्,’’ बोहोराले सुनाउनुभयो । दुवै नदीमा पानीको बहाव बढेपछि नाग्म बजार पनि जोखिममा परेको छ । नदीको छेउबाट घरका जग भएका कारणले नदीले घरका पिलरमा धक्का दिएमा घर ढल्ने जोखिम उत्तिकै रहेको छ । सुरुमा घर बनाउँदा खासै नदीमा पानी बड्ने घट्ने केही ख्याल भएन ।

पुरानै अवस्थामा खासै नदी धेरै नबढेको देखेका बुढापाकाको भनाइका आधारमा घर निर्माण भए । अहिले प्रत्येक वर्ष नदीमा पानीको बहाव बढिरहेकाले घर जोखिममा रहेको स्थानीय मायाप्रसाद महताराले बताउनुभयो । महतराका अनुसार आफू ४५ वर्षको भए ।

अहिलेसम्म यसरी पानी नदीमा बढेको देखिएन । वर्षात फेरि धेरै हुने । हप्ता दिनसम्म पानी निरन्तर पर्ने गर्थ्यो । तर यसरी बाढी आउँदैनथ्यो महताराले भन्नुभयो । यसलाई जलवायुको असर नै भन्नुपर्छ । कहिले पानी पदै नपर्ने कहिले ठूलो मुसलधारे पानी पर्ने भएकाले जमिन नभिजेर दुई वर्षयता नदीमा पानी धेरै  बन्ने हुँदा बाढीको खतरा बढेको उहाँको भनाइ छ ।

जुम्ला र मुगुबाट भएर बग्ने नदीमा पानी बढेकाले कृष्ण मन्दिरका साथै बन्दै गरेको पुल पनि जोखिममा छ भने कालीकोटतर्फको नाग्म बजार उच्च जोखिममा छ । यसरी पानीको बहाव बढिरहेमा बजारका घरमा क्षति पुग्ने अनुमान स्थानीय प्रशासनदेखि सरकारले गरेको छ ।

तर बजारबाट अन्यत्र जान भने भन्ने अवस्था नभएको तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । जोखिम नहोला भन्न पनि सकिन्न । होला भनेर पहिला नै बजार खाली गराउ जस्तो पनि छैन ।

पानीको मापन गर्नका लागि नाग्म प्रहरी चौकीलाई भनेको उपप्रमुख शाहीले बताउनुभयो । स्थानीय प्रशासनले पनि सर्तकताका लागि बजारका व्यापारीलाई अनुरोध गरिरहेको उहाँको भनाइ छ । यता कर्णाली नदीमा पनि पानीको बहाव बढिरहेको छ ।

पानीको बहाव बढे पनि यसपालि जोखिम भने कमै रहेको छ । कालीकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रतनबहादुर शाहीले जितेबजार सबैभन्दा बढी जोखिम हो । त्यहाँका व्यापारी कर्णालीमा पक्की पुल बनेसँगै अन्यत्र गइसकेकाले जोखिम कमै भएको सुनाउनुहुन्छ । तर कालीकोटका गाउँ बस्तीमा भने अझै पानी परेको छैन । पानी नपर्दा खेती लगाउन ढिलाइ भइरहेको छ ।