• ११ असोज २०८१, शुक्रबार

फेसबुकमा तालिबानका पृष्ठ निलम्बन

blog

काबुल अफगानिस्तान), साउन ६ गते । सामाजिक सञ्जाल फेसबुक तालिबान विरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठ निलम्बन गरी तालिबानविरोधी आफ्नो नीतिलाई पुष्टि गरेको हो । 

“अफगानिस्तान नेसनल टेलिभिजन र बख्तर न्युज एजेन्सीका पृष्ठहरूले अब फेसबुकमा पहुँच पाउने छैनन्,” अफगानी खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । समाचारमा लेखिएको छ, “तालिबानले सत्तारोहणसँगै अफगानिस्तान राष्ट्रिय टेलिभिजनको सञ्चार केन्द्रको नियन्त्रण जफत गरेदेखि उनीहरूले यसको प्रयोग गरी आफ्नो पक्षमा व्यापक गतिविधि सञ्चालन गरेका थिए । तथापि यस केन्द्र र बख्तर समाचार एजेन्सीका पृष्ठहरू हाल पहुँचयोग्य छैनन् ।”

अफगानिस्तान नेसनल टेलिभिजनका प्रमुख अहमदुल्ला वासिकका अनुसार फेसबुकले यी सञ्चारमाध्यमले चलाएका पस्तो र दरी पेजमा प्रतिबन्ध लगाएको छ । “फेसबुक विश्वभर सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल साइटमध्ये एक हो र यो २०२१ को मध्यमा तालिबानलाई आतङ्कवादी सङ्गठनका रूपमा नामकरण गर्ने पहिलो संस्था थियो,” अफगानी समाचार संस्था खामा प्रेसले बताएको छ । 

फेसबुकको प्लेटफर्मले तालिबानलाई “आतङ्कवादी सङ्गठनका रूपमा मान्यता दिन्छ र आफ्नो प्लेटफर्ममा यस सङ्गठनद्वारा सिर्जना गरिएको वा समर्थन गर्ने कुनै पनि सामग्रीको प्रकाशनमा प्रतिबन्ध लगाएको छ,” विशेष स्रोतलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । खासगरी सामाजिक सञ्जाल स्थलमा युद्धग्रस्त अफगानिस्तानका तालिबान नियन्त्रित सरकारी निकायका पानाहरू यसअघि पनि फेसबुकले बन्द गरेको थियो । फेसबुकका एक प्रवक्ताका अनुसार फेसबुकले आफ्नो सबै प्लेटफर्ममा तालिबानविरोधी नीति लागू गरेको छ । यसका साथै फेसबुक आफैँ, इन्स्टाग्राम र ह्वाट्स एपले पनि यो नीति लागू गरेको छ । तालिबानका अधिकारी तथा प्रवक्ता ट्वीटरमा पनि सक्रिय छन् । 

अफगानिस्तानमा तालिबान समूह सत्तामा आएपछि विशेषगरी महिला, किशोरकिशोरीसहित हजारौँ पत्रकार तथा सञ्चारकर्मी रोजगारीबाट वञ्चित भएका छन् । आईएफजे–सहयोगी अफगानिस्तान राष्ट्रिय पत्रकार सङ्घ (एन्जु)ले ३३ वटा प्रान्तमा गरेको सर्वेक्षणले १५ अगस्ट २०२१ देखि ३१८ वटा सञ्चारमाध्यम बन्द भएको देखाएको छ । यस सङ्कटले अखबारलाई सबैभन्दा धेरै असर पारेको छ र ११४ मध्ये २० जना मात्र प्रकाशित भएका छन् । आईएफजेका लागि सङ्कलित प्रतिवेदनअनुसार अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ५१ टीभी स्टेसन, १३२ वटा रेडियो स्टेसन र ४९ वटा अनलाइन पत्रिकाले सञ्चालन बन्द गरेका छन् ।

रोजगारी गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको आईएफजेले विज्ञप्तिमा उल्लेख गरेको छ । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन  (युनामा)ले जारी गरेको प्रतिवेदनअनुसार मानव अधिकार उल्लङ्घनका कारण १७३ जनापत्रकार तथा सञ्चारकर्माी प्रभावित भएका छन् । तीमध्ये १६३ जना अधिकारकर्मी पीडित भएका थिए ।  रासस/एएनआई