• २४ कात्तिक २०८२, सोमबार

नाइजेरियामा जिहादी गुटबिचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

blog

कानो (नाइजेरिया), कात्तिक २४ गते । उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहबिच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण सङ्घर्षबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतले सोमबार एएफपीलाई जानकारी दिएका हुन् ।

बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी) बिच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध सुरु भएको थियो । दुवै समूहबिच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको बताइएको छ ।

नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले भन्नुभयो, “हामीले प्राप्त गरेको विवरणअनुसार लडाइँमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन् ।” त्यस बेलादेखि हिंस्रक गतिविधि त्यागेर यस क्षेत्रमा जिहादीका गतिविधि निगरानी गर्दै आएका बोको हरामका एक पूर्व लडाकू सादिकुले भन्नुभयो, “झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिए र उनीहरूको ठुलो मात्रामा हतियार पनि जफत गरियो ।”

सादिकुका अनुसार बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमायो । उहाँले भन्नुभयो, “दुई समूहले एक अर्कामाथि प्रत्यक्ष आक्रमण गर्न थालेपछि यो पछिल्ला वर्षको सबैभन्दा भीषण झडप हो ।” सादिकु हाल बोर्नो राज्यको राजधानी मैदुगुरीमा बसोवास गर्दै आउनु भएको छ । उक्त क्षेत्र लामो समयदेखि इस्लामिक उग्रवादको केन्द्रविन्दु रहँदै आएको छ ।

यसैबिच, नाइजेरियाको एक गुप्तचर स्रोतले पनि झडपमा ‘१५० भन्दा बढीको मृत्यु भएको’ अनुमान गर्दै घटनाको परिणाम नजिकैबाट पछ्याइरहेको बताएको छ । स्रोतले भनेको छ, “हामी यो लडाइँबारे सचेत छौँ र यसले दुवै समूहको क्षमतामा ठुलो आघात पुर्‍याएको छ, जुन हाम्रो सुरक्षाका लागि सकारात्मक सङ्केत हो ।”

आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि आइएसडब्लुएपी र बोको हरामबिचको वैचारिक मतभेद सन् २०१६ मा सुरु भएको हो । त्यसयता, दुवै समूहबिच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्ध भएका छन् । लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । 

यहाँ जिहादीले प्रायः आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता नाइजेरियाली सेनाले उग्रवादीविरुद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबिचको आन्तरिक सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ । स्थानीय बासिन्दाका अनुसार लडाइँपछि धेरै शव अझै पनि क्षेत्रका दलदली भागमा फेला परिरहेका छन् ।

बाँकी बाँचेका वरपरका गाउँमा भागेका छन् । सुरक्षाकर्मीले युद्ध स्थल नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ । यो पछिल्लो घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षा स्थितिलाई फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित पारेको छ । रासस/एएफपी