सियोल, कात्तिक २४ गते । दक्षिण कोरियाली अभियोजनकर्ताले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् । उहाँमाथि उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रचार पर्चा खसाल्ने उद्देश्यले ड्रोन उडानको आदेश दिएको आरोप लगाइएको हो ।
गत वर्ष उत्तर कोरियाले दक्षिण कोरियाबाट प्योङयाङमाथि प्रोपोगान्डा पर्चा खसालिएको कुरा ‘प्रमाणित’ भएको दाबी गरेको थियो । यद्यपि सियोलको सेनाले यसबारे कुनै पुष्टि गरेको थिएन । यस घटनापछि दक्षिण कोरियाली अभियोजन पक्षले विशेष अनुसन्धान सुरु गरेको थियो । यसको उद्देश्य ड्रोन पठाउने कार्य उत्तरलाई उक्साउने र त्यसपछि मार्सल ल (सैन्य शासन) घोषणा गर्ने बहानाको रूपमा प्रयोग गर्ने अवैध षड्यन्त्र त होइन भनेर पत्ता लगाउनु थियो ।
राज्य अभियोजक पार्क जी–यङले सोमबार पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “विशेष सल्लाहकार टोलीले पूर्व राष्ट्रपति युनमाथि शत्रुलाई फाइदा पुर्याउने कार्यमा संलग्न भएको र आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोग लगाएको छ ।” पार्कका अनुसार युन र उहाँका नजिकका सहयोगीले ‘आपतकालीन मार्सल ल घोषणा गर्न मिल्ने परिस्थितिको सिर्जना गर्ने षड्यन्त्र’ गर्नुभएको थियो ।
यस कदमले अन्तर-कोरियाली सशस्त्र टकरावको जोखिम बढाएर राष्ट्रिय हितमा क्षति पुर्याएको ठहर गरिएको छ । अभियोजनकर्ताले ठोस प्रमाणका रूपमा गत वर्ष अक्टोबरमा युनका तत्कालीन प्रति-गुप्तचर कमान्डरद्वारा तयार पारिएको एक मेमो उद्धृत गरेका छन् । सो मेमोमा ‘राजनीतिक अस्थिरता सिर्जना गर्न वा उत्पन्न हुने अवसरलाई कब्जा गर्न’ निर्देशन दिइएको उल्लेख छ ।
साथै, त्यसमा सेनालाई उत्तर कोरियालाई अनुहार गुमाउने अवस्थामा पुर्याउने गरी ‘प्योङयाङ’ वा प्रमुख तटीय सहर ‘वोनसन’ जस्ता स्थानमा लक्षित आक्रमण गर्न सुझाव दिइएको छ । सियोल र प्योङयाङ सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्धपछि शान्ति सम्झौता नभई केवल युद्धविराममा पुगेका कारण आज पनि औपचारिकरूपमा युद्धको अवस्थामै रहेका छन् ।
गत वर्ष डिसेम्बरमा युनले नागरिक शासन भङ्ग गर्ने प्रयास गरेपछि देश राजनीतिक सङ्कटमा फस्यो । उहाँले मार्सल ल घोषणा गर्न संसदमा मतदान रोक्नका लागि सशस्त्र सैनिक पठाउन आदेश दिनुभएको आरोप छ । उक्त प्रयास असफल भएपछि जनवरीमा बिहानको समयमा सुरक्षाकर्मीले उहाँलाई गिरफ्तार गरे, जसले गर्दा उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा रहँदै पक्राउ परेका पहिलो राष्ट्रपति बन्नुभयो ।
यसपछि अप्रिलमा संसद्ले उहाँलाई औपचारिकरूपमा पदमुक्त गर्यो र जुन महिनामा सम्पन्न आमचुनावमा मतदाताले विपक्षी नेता ली जे म्युङलाई नयाँ राष्ट्रपति चयन गरे । पूर्व राष्ट्रपति युन अहिले विद्रोह, शक्तिको दुरुपयोग र मार्सल ल घोषणा प्रयत्नसँग सम्बन्धित गम्भीर आपराधिक अभियोगमा अदालतमा मुद्दा खेपिरहनु भएको छ । अभियोजन पक्षका अनुसार यस्ता कार्यले राष्ट्रिय सुरक्षालाई मात्र नभई दक्षिण कोरियाको लोकतान्त्रिक मूल्य मान्यतालाई समेत गम्भीर चुनौती दिएका छन् । रासस/एएफपी