• १७ असार २०८१, सोमबार

फेवा ‘सिल्ट्रेसन’ बाँध कमसल

blog

सन्तोष सुवेदी

कास्की, साउन ६ गते ।  फेवातालको मुहानमा बनाइएको ‘सिल्ट्रेसन ड्याम’ (बाँध) कमसल तथा कम गुणस्तर भएको पाइएको छ । महालेखा परीक्षक– २०७९ को प्रतिवेदनले फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्को कारणले नभई कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । महालेखाको प्रतिवेदनले ड्याम निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएको उल्लेख गरेको छ । कम गुणस्तर बनाउँदा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । 

करिब २८ करोड १९ लाख ८६ हजार रुपियाँ लागतमा बनेको ड्याम कुनै उपयोग बिना फेरि सुरुवातबाटै निर्माण गर्नुपर्ने अवस्था आएको छ । विवादित ड्याम अध्ययनका लागि गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । 

‘फेवा सिल्ट्रेसन ड्याम समस्या र न्यूनीकरण’ नामको उक्त प्रतिवेदनले निर्माणमै गम्भीर त्रुटि भएको औँल्याएको छ । महालेखाको २०७९ को प्रतिवेदनले पनि ड्याम निर्माणका क्रममा गुणस्तरीय काम गर्नुपर्नेमा पोखरा महानगरपालिकाले ध्यान नदिएको स्पष्ट पारेको छ । मुहानमा बर्सेनि बगेर आउने गेग्रान छेक्न पोखरा महानगरले सिल्ट्रेसन ड्यामको निर्माण गरेको थियो । त्यसरी थुप्रिने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले २८ करोड रुपियाँ खर्च गरी ड्याम बनाएको हो । 

तर हर्पन खोलामा बनेको ड्याम भत्केर निर्माण सकिएको वर्ष दिन पनि नबित्दै खण्डहर बनेको छ । हर्पन, लौरुक, बेत्यानी र लौरुक खोलामा बनेका ड्यामहरूमध्ये हर्पनको ड्याम वर्ष दिन नपुग्दै भत्किएको हो । तालमा सोझै मिसिने ढुङ्गा, गिटी छेकेपछि तालको संरक्षण पनि हुने, ड्याममा थुप्रिने ढुङ्गा, गिटी बेचेर महानगरलाई आम्दानी पनि हुने उद्देश्यका साथ ड्याम बनाएको थियो । फेवा सिल्ट्रेसन प्रालि नामक कम्पनीलाई २४ वर्षका लागि उक्त ड्याम निर्माणको ठेक्का दिइएको थियो । कमसल निर्माण भएको भन्दै सुरुदेखि नै विवादित ड्यामलाई पुनःनिर्माणका लागि ५४ करोड रुपियाँ स्टिमेट निकालेर कम्पनीले महानगरमा बुझाएको छ ।