• १३ वैशाख २०८१, बिहिबार

बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कनमा बन्न नसक्ने

blog

काठमाडौँ, साउन ६ गते  । सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ।  प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो। 

प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले आयोजनाको रेखाङ्कनलाई पुनरवलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ ।

मन्त्रालयले समितिलाई साउन ३ गते बुझाएको छ । समितिका सचिव ओमबहादुर कार्कीले निर्माण भएका स्थायी संरचनालाई हटाउँदा तथा ती जग्गा अधिग्रहण गर्दा मुआब्जास्वरूप लाग्ने रकम अत्यधिक लाग्ने भएकाले आयोजनाको रेखाङ्कन नै पुनरवलोकन गर्नुपर्ने सुझाव दिइएको जानकारी दिनुभयो । 

बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ अनुसार छ मिटरभन्दा कम चौडा सडक निर्माण गर्न नपाइने र खुला क्षेत्रबापत पाँच प्रतिशत जग्गा अनिवार्य छोड्नुपर्ने भएकाले आयोजनाको दायाँबायाँ २५० मिटर जग्गा अधिग्रहण गर्नुपर्ने प्रस्तावलाई समेत संशोधन गर्नुपर्ने मन्त्रालयको निष्कर्ष छ । अहिलेसम्म स्रोतको सुनिश्चिततासमेत नभएकाले आयोजनालाई अगाडि बढाउन नसकिएको मन्त्रालयले जनाएको छ।