• १० मंसिर २०८१, सोमबार

सन्दर्भ : बीपी स्मृति दिवस

बीपीको प्रजातान्त्रिक समाजवाद

blog

“मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भन्छन्। समाजवाद कुनै छुट्टै कानुन होइन, आन्दोलन होइन बरु यो एउटा सांस्कृतिक आन्दोलन हो। समाजवादको एउटा मुख्य लक्ष्य हो– समानता। समानता भनेको राजनीतिक तथा आर्थिक समानता हो,” बीपी कोइराला।

“हाम्रो मुलुक गरिब छ। नेपाल किसानको मुलुक हो । जसले किसानको, हलो जोत्नेहरूको भलाइ गर्छ, जसले गाउँलाई चिनेको छ, गाउँमा बस्ने मानिसको अवस्था बुझेको छ, गाउँको भलाइको जुन नीति छ, जुन कार्यक्रम छ, त्यही नै समाजवादी नीति र कार्यक्रम हो। जमिनको स्वामित्व जमिनमा काम गर्ने किसानलाई नै दिनु समाजवाद हो।”  प्रथम र द्वितीय विश्वयुद्धले विश्व राजनीतिमा ठूलो परिवर्तन ल्यायो। पुराना मान्यता, संस्कार, परम्परा एवं विचारधारामा सुधार एवं नयाँ सोचाइ ल्यायो भने सामन्तवाद एवं साम्राज्यवादभित्रका राजतन्त्रात्मक परिपाटी, राजा–रजौटा परम्परा क्रमशः मासिँदै गए। मौलिक अधिकार र मानवतावादी दृष्टिकोण विश्व भ्रातृत्व–बन्धुत्वबारेका नयाँ प्रवृत्ति, मान्यता देखा पर्न थाले। सन् १९५० को दशकदेखि विश्वराजनीतिक परिवेश दुई खेमामा विभाजित भयो। बहुदलीय प्रजातान्त्रिक व्यवस्था र एकदलीय अधिनायकवादी साम्यवादी व्यवस्था। यी दुई व्यवस्थाका छुट्टै शक्तिकेन्द्र र अनुयायी राष्ट्र बन्न थाले। कतिपय राष्ट्रमा त यी दुई शक्तिकेन्द्रले गृहयुद्ध पनि गराइदिए ।

यसरी यी दुवै प्रकारका व्यवस्थाले समाज र व्यक्तिको हित नगर्ने हुँदा अर्को मध्यमार्गी व्यवस्था स्थापित गर्न राजनीतिज्ञ सक्रिय भए। यद्यपि यो मध्यमार्ग समाजवादी विचारधारा उन्नाइसौँ शताब्दीको अन्त्यतिर नै प्रचारमा आइसकेको थियो। फ्रान्स, बेलायत, जर्मनी, रुस आदिमा समाजवादी पार्टीले आन्दोलन गरिसकेका थिए। यस विचारधाराका प्रचारक बर्नाड शा, सिड्नी वेव, एच.जी. बेल्स, एच. कोल, ग्राहम बालाज आदि प्रमुख थिए। यिनीहरूले पुँजीवाद र माक्र्सको साम्यवादी–समाजवादबीचको संयोजन र व्यवस्थापन गरेर नयाँ विचार फैलाए। दोस्रो विश्वयुद्धपछि पुनर्गठित सोसलिस्ट इन्टरनेसनलको समाजवादी प्रचारले विश्वका धेरै देशलाई प्रभावित पा-यो। सन् १९७० को दशकका आसपासमा जर्मनीका नेता एवं चान्सलर विली ब्रान्टले समाजवादलाई अगाडि बढाउन ठूलो योगदान पु-याएका थिए।

भारतीय स्वतन्त्रता आन्दोलनमा पनि समाजवादी विचारले नेतृत्व गरेको थियो। महात्मा गान्धी पूर्ण समाजवादी थिए। आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, डा. लोहिया, अशोक मेहता आदि दर्जनौँ प्रभावशाली नेताले यही मध्यमार्गी समाजवादी विचारको नेतृत्व दिँदै आएका थिए। सन् १९५२ को जनवरीमा बर्माको रङ्गुनमा एसियाली समाजवादीको सम्मेलन भयो। नेपाल, भारत, जापान, इजरायल, इन्डोनेसिया, बर्मा आदि दर्जनौँ देशका प्रतिनिधिले यस सम्मेलनमा भाग लिएका थिए। नेपालबाट जननेता बीपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको सहभागिता थियो। यस सम्मेलनले राष्ट्रिय स्वतन्त्रता, प्रजातन्त्र र आर्थिक समानतालाई मुख्य आधार बनाएको थियो

व्यक्तिको स्वतन्त्रता र समानतालाई सकारात्मक रूपमा उपयोग गर्नुपर्छ भन्ने यस समाजवादी दर्शनका मुख्य अवधारणा यस प्रकार छन् ः प्रजातान्त्रिक राज्य व्यवस्थाले मात्र समाजवादीप्रतिको दायित्व पूरा गर्छ। मताधिकार, जननिर्वाचित सरकार र शासन प्रणाली, स्वतन्त्र न्यायालय, विकेन्द्रीकरण र कानुनी राज्यजस्ता विषय यसका मुख्य आधार हुन्। व्यक्तिको श्रम, योग्यता, प्रतिभा आदिको सम्मान गर्दै, निजी सम्पत्तिको अधिकार रक्षा गर्ने, विपन्न वर्गलाई समान अवसरको व्यवस्था गर्ने। धर्म, संस्कृति, वर्ग, वर्ण, जाति आदि सामाजिक विविधतालाई उचित सम्मान गर्दै सन्तुलनमा राख्ने। जनताका न्यूनतम आवश्यकता– खाने, लाउने, बस्ने, स्वास्थ्य, शिक्षा र अन्य कतिपय मानवीय आवश्यकता परिपूर्ति गर्न अवसर जुटाइदिने। न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने। व्यक्तिगत महìव र अस्तित्वको रक्षा गर्ने। समन्वय, सद्भाव र पारस्परिक हितमा आधारित समाज निर्माण गर्ने आदि प्रमुख आधार हुन्।

नेपालमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँगै समाजवादी दृष्टिकोण पनि प्रारम्भ भएको हो। नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको एक मात्र मुख्य पार्टी हो। यसै पार्टीले समाजवादी आन्दोलन पनि सञ्चालन गर्दै आएको छ। विश्वको राजनीतिलाई राम्ररी विश्लेषण गर्नसक्ने भएकाले नेपाल र नेपाली समाजको विकासमा समाजवादी बाटो मात्र सफल हुन्छ भन्ने कुरामा विश्वस्त यसै आधारमा कांग्रेसको २०१२ सालको वीरगञ्ज अधिवेशनद्वारा आफ्नो घोषणामा ‘समाजवाद’ भन्ने मूल सिद्धान्त पारित गरिएको थियो ।

कांग्रेसलाई विचार, चिन्तन र प्रयोगद्वारा नेतृत्व दिने बीपीले समाजवादी कार्यक्रमबाट मात्र मुलुकको विकास हुनसक्ने कुरा प्रजातन्त्रका नाममा चलेको पुँजीवादी अर्थव्यवस्थाले जनताको समग्रतामा हित गर्न नसकेको ज्ञान बीपीलाई राम्ररी भयो। त्यसैगरी माक्र्सले चलाएको समाजवादले पनि “व्यक्तिको स्वतन्त्र अस्तित्व समाप्त पारेको बुझेर बीपीले नेपाली जनजीवनका लागि प्रजातान्त्रिक समाजवादी बाटो मुलुकको विकासमा सजिलो र छिटो हुने” बताउनुभयो। 

बीपीले नेपालमा सञ्चालित हुने समाजवादलाई एउटा नमुनाका रूपमा विश्वसामु ल्याउने विचार राख्नुभएको थियो। ‘प्रजातन्त्र’ सबैभन्दा प्रमुख विषय हो भनेर मान्नुहुने बीपीले राष्ट्रियता र समाजवादलाई प्रजातन्त्रले मात्र विकसित पार्न सक्ने बताउनुभएको छ। “हामीले समाजवादी व्यवस्था मात्र नेपालको आर्थिक विकासको बाटो हुनसक्छ भनेर आफ्नो लक्ष्य बनाएका हौँ। समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधनबाट प्राप्त गर्ने सङ्कल्प गरेका छौँ,” वीरगञ्ज अधिवेशनमा कांग्रेसले लिएको सङ्कल्प थियो। २०१३ सालदेखि नेपालले सोसलिस्ट इन्टरनेसनलको पूर्ण सदस्यता प्राप्त गरेपछि अहिलेसम्म पनि कांग्रेस यसका विभिन्न सम्मेलनमा भाग लिँदै विविध वाचा र प्रतिज्ञा गर्दै आएको छ। २०१५ सालको आमनिर्वाचनबाट कांग्रेस दुईतिहाइ बहुमत लिएर सत्तामा पुग्यो। बीपीको नेतृत्वमा बनेको यस सरकारले समाजवादी नीतिअनुसार काम गर्न थाल्यो। जसअनुसार भूमिमाथिको सामन्ती एकाधिकार उन्मूलन, सहकारी आन्दोलनको थालनी, विभिन्न उद्योगको एकीकरण, उपयुक्त कर व्यवस्था आदि सुरु ग-यो।

कांग्रेसको सरकारले बिर्ता र जमिन्दारी प्रथा उन्मूलन अभियान, भूमिहीनलाई भूमि वितरण, मोहियानी अधिकार संरक्षण, राजारजौटा प्रथाको समाप्ति, देशव्यापी रूपमा शैक्षिक प्रगति–अभियान, प्रशासनमा आधुनिकीकरण आदि परिवर्तनकारी अभियानको थालनी ग-यो। पन्ध्र वर्षभित्र नेपालको गरिबीलाई निश्चित दिशामा व्यवस्थित पारिसक्ने सङ्कल्प र कार्यक्रमसाथ अघि बढ्नुभएका बीपी कोइरालाको नेतृत्व प्राप्त कांग्रेसको सरकारद्वारा डेढ वर्षमा नै समाप्त पारियो। प्रजातन्त्र, मानवअधिकार र सम्पूर्ण प्रगतिकै अन्त्य गरियो– २०१७ साल पुस १ गतेका दिन प्रतिक्रियावादी तìवको शक्तिद्वारा। ०३९ सालसम्म सक्रिय नेतृत्व दिनुहुने बीपीले दर्जनौँ आलेख, अन्तर्वार्ता, भाषण–प्रवचन आदिका माध्यमबाट समाजवादबारेको व्याख्या र प्रयोगात्मक अभियान सञ्चालन गर्नुभएको हो। “कांग्रेसको मूल अभियान भनेकै समाजवाद हो” भनेर बीपीले प्रस्ट पार्नुभएको छ। आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको एउटा आदर्श व्यवस्था– प्रजातान्त्रिक समाजवाद हो। जसबाट जनताको जीवनस्तर उठाउन, स्वावलम्बी, आत्मनिर्भर, स्वयं जागरुक र समर्थ बनाउन योगदान पुग्छ। चेतनशील सभ्य– शिष्ट र योग्य नागरिक बन्न मद्दत दिन्छ। .... र अन्त्यमा एउटा लोककल्याणकारी राज्य निर्माण हुन्छ।

“नेपाल भनेको गाउँ हो र नेपालको विकास भन्नु नै गाउँको विकास हो। झुपडी, गाउँ र बस्तीबाट विकासको शङ्खनाद आफ्नै पाखुराले आफ्नै माटोमा प्रारम्भ गर्नुपर्छ।” प्रजातान्त्रिक समाजवादको परिभाषा यस्तो थियो– बीपीको। जुन देशमा जस्तो किसिमको साधन छ, त्यसैलाई सामान्य जनजीवनसम्म पु-याउन सक्नु प्रत्येकमा यो मेरो हो भन्ने भावना जगाएर त्यसतर्फ उन्मुख गराउनु बीपी चेतको प्रवाह हो। व्यक्तिलाई निजी क्षेत्रको शोषण र राज्यस्तरको शोषण दुवैतिरबाट मुक्त पारेर स्वतन्त्र र आत्मनिर्भर नागरिक बनाउनु प्रजातान्त्रिक समाजवादको अर्को विशेषता हो। प्रत्येक योजना र कार्यक्रम जनस्तरबाट सञ्चालन गराउने, ग्रामीण विपन्न वर्गलाई प्रोत्साहित गर्न सक्ने आधार तयार पार्ने ‘सहकारिता’ विकेन्द्रीकरण– आयोजनालाई प्राथमिकता दिने। व्यापारिक क्षेत्रमा राष्ट्रियस्तरका पुँजीपतिलाई छुट्टै संलग्न गराएर, स–साना उद्यमी एवं व्यवसायीलाई खुला आर्थिक प्रणालीका आधारमा निष्पक्ष, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार पार्ने, यसनिम्ति सरकारी पक्षबाट आवश्यक सहयोगसमेत जुटाइदिनुपर्ने। अर्थात् समाजको बहुसङ्ख्यक तल्लो वर्ग उपल्लो वर्गबाट शोषित नहोस् भन्न सरकारी पक्षबाट समुचित व्यवस्था हुनुपर्छ। स्वदेशी उत्पादन र स्वदेशी उद्यमीको संरक्षण गर्नु प्रजातान्त्रिक समाजवादको अर्को नमुना हो।

प्रत्येक क्षेत्रमा कृषि, उद्यम– व्यवसाय आदिमा जनसहभागिता गराएर, जनआस्था बटुल्न सक्नु प्रजातान्त्रिक समाजवादको आदर्श हो। सामूहिक खेती, सहकारी खेती वा उद्यमलाई प्रोत्साहन गर्नु अर्को विशेषता हो। परम्परागत मान्यता र धारणालाई समयअनुसार परिवर्तन गरेर वैज्ञानिक युग सुहाउँदो बनाउनु पनि प्रजातान्त्रिक समाजवाद हो। सामन्ती परम्पराको भूस्वामित्व समाप्त पारेर ‘जसको जोत उसको पोत’ नीतिलाई व्यवहारमा उतारेर कमैया र भूमिपतिको द्वन्द्व समाप्त पार्नुपर्छ। नेपाली कृषिमूलक अर्थव्यवस्थालाई पुँजीमूलक पार्दै लैजान ठाउँ र प्रकृति, जनआस्था र क्षमताअनुसारका उद्योग व्यवसायलाई प्रोत्साहित गर्न सक्नुपर्छ। शिक्षा र योग्यताअनुसार रोजगारी दिन सक्नु राज्यको दायित्व हो र यो दायित्व प्रजातान्त्रिक समाजवादी सरकारले मात्र पूरा गर्नसक्छ भन्ने बीपीको अवधारणा यही थियो।

‘प्रजातान्त्रिक समाजवाद’ भनेको लोककल्याणकारी राज्यव्यवस्थाको अवधारणा हो। यसका लागि प्रत्येक व्यक्तिमा त्याग, इमानदारी, कर्तव्यपालन, सिद्धान्त र व्यवहारप्रति आस्थावान, स्वार्थी प्रवृत्ति, अहङ्कार, पदलोलुपता, इष्र्या–द्वेष, आपसी गुटबन्दीजस्ता घातक तìवबाट मुक्त हुनुपर्छ। यथार्थमा प्रजातान्त्रिक समाजवादी आदर्शका वाहकले अति संयमित र सहिष्णु, ऐक्य र समन्वय, अन्योल र द्विविधाबाट मुक्ति एक प्रकार सन्त आचरणको पक्षधर हुनुपर्छ।

बीपीले प्रजातान्त्रिक समाजवादलाई सांस्कृतिक रूपमा वरण गर्नुभएको थियो। यसै आधारमा नेपालमा प्रजातान्त्रिक समाजवाद भनेको यस प्रकारको समाजवाद हो भनेर 

प्रस्ट्याउनुभएको छ ः “व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, पार्टी सङ्गठनको अधिकार, बालिग मताधिकार, राजाको वैधानिक स्थान, संसद्प्रति उत्तरदायी सरकार, कानुन् िशासन, पिछडिएका जनजातिको उत्थान, विकेन्द्रीकरण, सामन्ती, पुँजीवादी शोषणको अन्त्य, उत्पादन वृद्धिका उपायको अवलम्बन, इमानदारीपूर्वक तटस्थ परराष्ट्र नीतिको पालना।” यीमध्ये राजतन्त्र समाप्त भइसकेकाले राजाको वैधानिक स्थानको प्रसङ्गबाहेक अन्य सबै अवधारणा वर्तमान गणतन्त्रात्मक व्यवस्थाभित्र पनि प्रयोग हुन सक्छन् । प्रजातन्त्रबिना समाजवाद सम्भव छैन। प्रजातान्त्रिक पक्ष रहेको खण्डमा मात्र समाजवाद–समाजवाद कहलाउँछ। बीपी भन्नुहुन्छ, “साम्यवाद भनेको समाजवाद नै हो, यसमा प्रजातन्त्र झिकिएको हुन्छ। साम्यवादमा प्रजातन्त्र थपिदिँदा समाजवाद हुन्छ भने समाजवादबाट प्रजातन्त्र झिकिदिँदा साम्यवाद बन्छ।”

‘समाजवाद’लाई आदर्श लक्ष्य मानेर राष्ट्र र समाजमा पूर्ण प्रजातान्त्रीकरण गर्न सकेको छैन कांग्रेसले। ग्रामीण क्षेत्र र समुदायलाई स्वावलम्बी बनाउनेतर्फ कुनै योजना एवं उपाय सञ्चालन गर्न सकेकै छैन।