भैरहवा समाचारदाता
भैरहवा, चैत १ गते । भैरहवा र आसपासका क्षेत्रमा देखिएको एलपी ग्यास अभावसँगै नेपाल–भारत सीमामा ग्यास तस्करीको प्रयास बढ्दै गएको पाइएको छ । सीमानाकाबाट अवैध रूपमा ग्यास लैजान खोजिएको घटनामा प्रहरीले नौ वटा भरिएका ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको तथा नेपालबाट भारततर्फ लैजान खोजिएको गरी नौवटा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको जनाएको छ । सीमावर्ती क्षेत्रमा भइरहेको निगरानीका क्रममा ती सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा ग्यास ओसारपसार गर्ने प्रयास देखिएकाले सुरक्षा निगरानी कडा बनाइएको बताउनुभयो । उहाँका अनुसार भारततर्फ ग्यासको मूल्य बढी हुनुका साथै त्यहाँ अभाव देखिएकाले नेपालबाट ग्यास लैजाने प्रयास भइरहेको छ ।“छिटपुट रूपमा नेपालबाट भारततर्फ ग्यास लैजान खोजिएको देखिएको छ,” उहाँले भन्नुभयो, “त्यस्ता गतिविधि भेटिएमा तत्काल नियन्त्रणमा लिने र कारबाही गर्ने काम भइरहेको छ ।”
यता भैरहवा र आसपासका बजारमा भने ग्यास अभाव देखिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास सिलिन्डर नपाउँदा दिनभरि पसल पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । धेरै पसलले स्टक सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन् । भैरहवा भन्सार कार्यालयले भने ग्यास आयातमा कुनै कमी नभएको जनाएको छ । भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार निर्वाचनका कारण एक/दुई दिन आयातमा सामान्य अवरोध भए पनि अहिले आयात पुनः नियमित भएको छ ।
“एलपी ग्यासको आयातमा अहिले कुनै समस्या छैन,” उहाँले भन्नुभयो, “यस नाकाबाट सामान्यतया दैनिक १० देखि १५ वटा ग्यास बुलेट आउने गरेका छन् ।”
स्थानीय ग्यास विक्रेताहरूका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास अभाव हुन सक्ने आशङ्काले उपभोक्ताले एक्कासि धेरै सिलिन्डर भरेर मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । ग्यास विक्रेता सङ्घ रुपन्देहीका उपाध्यक्ष तथा भैरहवा क्षेत्रका अध्यक्ष राममिलन यादवका अनुसार पहिले भैरहवा, लुम्बिनी, छपिया, धकधई र मर्चवार क्षेत्रमा दैनिक करिब एक हजार पाँच सयदेखि दुई हजार सिलिन्डरसम्म बिक्री हुने गरेको थियो । पछिल्लो समय माग झन्डै दोब्बर बढेकाले बजारमा आपूर्ति दबाबमा परेको छ । उपभोक्तामा बढेको मौज्दात प्रवृत्ति, सीमावर्ती क्षेत्रमा भइरहेको ग्यास ओसारपसार र बजारमा अचानक बढेको मागका कारण अहिले भैरहवा क्षेत्रका उपभोक्ता ग्यास अभावको मारमा परेका छन् ।