• १४ वैशाख २०८१, शुक्रबार

चन्द्रौटा–कृष्णनगर सडक निर्माण कार्य अन्तिम चरणमा

blog

कपिलवस्तुको चन्दौटाबाट कृष्णनगर हुँदै भारत प्रवेश गर्ने चार लेनको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन ५ गते । पूर्व–पश्चिम राजमार्गको चन्द्रौटाबाट कृष्णनगर नाका जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल माघबाट निर्माण सुरु कार्य भएको चन्द्रौटा–कृष्णनगर चार लेन सडक ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । 

निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा म्याद थपगरी काम गर्दैआएको छ । २०७५ माघबाट सुरु भएको सडक निर्माणको काम तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई सास्ती खेप्नुपरेको छ । पहिलो पटक २०७८ जेठमा, दोस्रो पटक २०७८ मङ्सिरमा र तेस्रो पटक २०७९ असारमा म्याद थप गरिएको योजना परामर्श सेवाका ईन्जिनियर रेसमलाल श्रेष्ठले बताउनुभयो । 

कोरोनाका कारणले छ महिना तथा नयाँ स्टिमेट डिजाइन गर्दा ६ महिना गरी १ वर्ष म्याद थप गरिएको थियो । पछिल्लो समय पुनः पाँच महिना म्याद थप गरिएको छ । थप भएको म्याद अवधिसम्म पूरा हुनेगरी काम गर्न आग्रह गरिएको श्रेष्ठले बताउनुभयो । ‘अहिले सम्मको अवस्था हेर्दा ८० प्रतिशत काम सकिएको छ, अब केही काम मात्र बाँकी छ’ उहाँले भन्नुभयो, ‘सडकलाई सुरक्षित र व्यवस्थित बनाउने काम भइरहेको छ ।’ 

विभिन्न कारणले तोकिएको समयमा काम गर्न नसकेको निर्माणको जिम्मा पाएको कालिका जेभि कम्पनिका नविन गुरुङले बताउनुभयो । काम सुरुवात गर्दादेखि नै लकडाउन भएकाले र पछिल्लो समय वर्षातका कारणले काम पूरा नभएको बताउनुभयो । 

‘अब एक किलोमिटर सडक कालोपत्रे तथा नालीलाई व्यवस्थित गराउन बाँकी छ, मौसमले साथ दिएमा दसैँसम्म काम सम्पन्न हुने गुरुङले बताउनुभयो । करिब एक घण्टा लाग्ने सडक चार लेन बनेपछि चन्द्रौटादेखि कृष्णनगर यात्रागर्दा आधा घण्टामा पुग्न सकिन्छ । चन्द्रौटादेखि कृष्णनगर २० किलोमिटर र कृष्णनगर बजारको ८ किलोमिटर सडक कालोपत्रे गर्ने यसै योजनामा समावेश गरिएको छ ।

सडक सुधार विकास आयोजना अन्तर्गत ८६ करोड रुपियाँको लागतमा बाटो निर्माण भइरहेको छ । सडक सुधार विकास आयोजना र एक्जिम बैंक भारतबीच सडक बनाउने सम्झौताअनुसार सडक निर्माण थालिएको हो । सो सडकको ठेक्का भारतीय कम्पनी दिनेशचन्द्र र नेपालको कालिका कन्स्ट्रक्सनले पाएको थियो ।