ज्ञानु पंगेनी
मध्यविन्दु, फागुन २९ गते । नवलपुरमा जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
आउँदो चैत महिनाको १ देखि ५ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो । जिल्लाभर खोप अभियान सञ्चालन गरी एक लाख ५० हजार ६६ जनालाई खोप लगाउने तयारी गरिएको चापागाईंले बताउनुभयो ।
विगत पाँच वर्षदेखि नवलपुरमा जापानिज इन्सेफलाइटिसका बिरामी लगातार देखिँदै आएका छन् । यस रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि यहाँ तुलनात्मक रूपमा बढी देखिएकाले विशेष अभियान सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा जापानिज इन्सेफलाइटिसका बिरामी लगातार बढ्दै गएको पाइएपछि जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न पहल गरिएको र अहिले सफल भएको चापागाईंले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत ३५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइने जनस्वास्थ्य अधिकृत प्रविण कुमार खनालले बताउनुभयो ।
मुख्य रूपमा जापानिज इन्सेफलाइटिसको जोखिम भदौ–असोज महिनामा बढी हुने भए पनि समयमै खोप प्रदान गरी नागरिकलाई सुरक्षित बनाउने उद्देश्यले अहिले नै अभियान सञ्चालन गर्न लागिएको खनालले बताउनुभयो । ३४ वर्षसम्मका उमेर समूहका व्यक्तिले यसअघि नियमित खोप तथा अभियानमार्फत खोप लगाइसकेकाले ३५ वर्षभन्दा माथिका उमेर समूहलाई लक्षित गरिएको हो ।
गर्भवती महिला, पहिले खोप लगाउँदा एलर्जी भएका व्यक्ति, खोप लगाउने समयमा उच्च ज्वरो आएका व्यक्ति तथा एचआईभी सङ्क्रमित बाहेक सबैले यो खोप लगाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको अहिलेसम्म नवलपुरमा जापानिज इन्सेफलाइटिसका १५ जना बिरामी फेला परेकोमा ६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएकोमध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । त्यसैगरी आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकोमध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले जानकारी दिनुभयो ।
सङ्क्रमित सुंगुर, बंगुर वा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ ।
खोप लगाएपछि जीवनभर जापानिज इन्सेफलाइटिसबाट बच्न सकिने भएकाले अभियानको अवसरमा खोप लगाएर सुरक्षित रहन कार्यालय प्रमुख चापागाईंले सबैलाई अनुरोध गर्नुभएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले खोप अभियानका बारेमा जानकारी दिन सरोकारवालासँग अन्तरकृया समेत गरेको छ । भने जिल्लाका आठ वटै पालिकामा पनि खोपको जानकारी दिन अन्तरकृया कार्यक्रम गरिएको छ ।