• २८ फागुन २०८२, बिहिबार

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार दुई कैदी पक्राउ

blog

सांकेतिक तस्बिर

काठमाडौँ, फागुन २८ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न मितिमा फरार रहेका दुई जना कैदी तथा प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीसहित सरकारी कागज किर्ते मुद्दाका अर्का एक प्रतिवादी रहेका छन् ।

ब्युरोका अनुसार जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भएका सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३० वर्षीय नुमेश वाइबालाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको हो । वाइबा जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए । पक्राउ परेका वाइबालाई बाँकी कैद भुक्तानीका लागि कारागार कार्यालय सुन्धारामा पेस गरिएको छ ।

त्यसैगरी, सरकारी कागज, छाप र दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका खोटाङ, बराहपोखरी गाउँपालिका–१ का ४१ वर्षीय नवराज लुइटेललाई पनि ब्युरोले नियन्त्रणमा लिएको छ । 

काठमाडौँको बसुन्धाराबाट पक्राउ परेका लुइटेललाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको ब्युरोले जनाएको छ ।