• २७ फागुन २०८२, बुधबार

हुम्लामै बिरुवा उत्पादनपछि कृषकलाई सहज

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), फागुन २७ गते । जिल्ला कृषि विकास कार्यालय हुम्लाले स्याउ र ओखरका बिरुवा वितरण गरेको छ । जिल्लाका कृषकसँग सम्झौता भए अनुसार जिल्ला कृषि विकास कार्यालय हुम्लाबाट स्याउ तथा ओखरका बिरुवा वितरण गर्दै आएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चूडामणि पन्तले जानकारी दिनुभयो ।

विगतका वर्षमा जिल्लाबाहिरबाट खरिद गर्दै हुम्लामा आइपुग्ने गरेको भए पनि केही समययता हुम्लाकै विभिन्न कृषि फार्मबाट खरिद गरी जिल्लाकै कृषकलाई सहुलियत दरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कृषि विकास कार्यालय हुम्लाले सात हजार ओखरका बोट र छ हजार स्याउका बोट खरिद गरी कृषकलाई अनुदान रकममा बिक्रीवितरण गरिएको हो ।

स्याउ तथा ओखर विकास कार्यक्रम र स्याउ तथा ओखर बगैँचा स्थापना तथा विकास कार्यक्रम अन्तर्गत कृषि विकास कार्यालय हुम्लाले १० लाख रुपियाँ बराबरको विनियोजित बजेटमार्फत हुम्लाका ६० वटा कृषि फार्मसँग गत माघमा सम्झौता भएको थियो । सो सम्झौता अनुसार यतिबेला चङ्खेलीमा रहेको बागवानी विकास केन्द्र धार्मा देउलीबाट ५५० स्याउ र ३५० ओखरका बिरुवा खरिद गरिएको थियो । अन्य बाँकी बोट सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिकाका कृषकसँग खरिद गरिएको थियो ।

बोट खरिदपछि जिल्ला कृषि विकास कार्यालय हुम्लाले विभिन्न गाउँपालिकामा रहेका कृषि शाखासँग समन्वय गरेर वितरण कार्य सञ्चालन गरिएको थियो । जिल्लाको ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकालाई केही समयअगाडि पालिकाकै समन्वयमा बिक्रीवितरण गरिएको भए पनि माथिल्लो क्षेत्रका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकलाई भने यतिबेला दैनिक बिरुवा लिन आउनेको घुइँचो लाग्न थालेको छ । 

प्रतिफार्मलाई पाँच सय ओखर र एक हजार स्याउका बोट दिने गरेको प्रमुख पन्तको भनाइ छ । प्रतिबोट स्याउको १३० र ओखरको ५५० रुपियाँमा बिक्री गर्ने गरेको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।