• २६ फागुन २०८२, मङ्गलबार

रौतहटमा १२८ उम्मेदवारको धरौटी जफत

blog

जिल्ला निर्वाचन कार्यालय रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, फागुन २६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहटका चार वटा निर्वाचन क्षेत्रका १२८ जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उहाँहरूको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । 

धरौटी जफत हुनेमा नेपाली कांग्रेश,नेपाल कम्युनिस्ट पार्टी (एमाले) ,नेपाली  कम्युनिस्ट पार्टी (नेकपा),आम जनता पार्टि लगायतका दल र स्वतन्त्र उम्मेदवार रहेका छन् । 

रौतहट जिल्लाका चार वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कुल १४२ जना उम्मेदवारले मनोयन दर्ता गराएका थिए । ती मध्ये १४ जना उम्मेदवारले मात्र धरौटि जोगाउन सफल भएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा ३९ जना उम्मेदवार मध्ये ३४ जनाको धरौटि जफत भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनुभयो । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा २६ उम्मेदवार मध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका उम्मेदवारसहित २३ जनाको धरौटि  जफत भएको उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र नं. ३ मा ४० उम्मेदवार मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहित ३७ जनाको धरौटि जफत भएको छ । यस्तै निर्वाचन क्षेत्र नं. ४ मा ३७ उम्मेदवार मध्ये नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल  र आम जनता पार्टि सहित ३४ जनाको धरौटि जफत भएको  जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दाशले जानकारी दिनुभयो ।

रौतहटमा १२८ जना उम्मेदवारको धरौटी जफत हुँदा कुल १२ लाख ८० हजार रुपैयाँ  राजस्व संकलन भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी उम्मेदवार सहित धरौटी जोगाउन सफल भएका १४ जना उम्मेदवारले प्रक्रिया पुर्याएर माग गरेमा धरौटी रकम फिर्ता गरिने उहाँले भन्नुभयो ।